गन्थन संवाददाता, पोखरा । क्रिकेट एसोशियसन नेपाल (क्यान) ले कप्तान सहितका खेलाडीहरुलाई राष्ट्रिय टिमबाट बरखास्त गरेको निर्णय फिर्ता लिनुपर्ने भन्दै बैकल्पिक युवा संगठनले माग गरेको छ । आज (बिहीबार) संगठनका महासचिव अशोक खड्काद्वारा जारी विज्ञप्तीमा कारवाही परि बरखास्त भएका खेलाडीलाई तुरुन्त फिर्ता बोलाउन माग गरेको हो ।
‘क्यानले खेलाडीहरुको क्रिकेट जगतलाई अझ सुदिृढ बनाउने पर्ने आवाजहरु सम्वोधन गर्नुको सट्टा बेथिती विरुद्ध आवाज उठाई रहेका खेलाडीहरु कप्तान ज्ञानेन्द्र मल्ल, उप–कप्तान दिपेन्द्र सिंह एरि, उत्कृष्ट बलर सोमपाल कामी र कमल सिंह एरिलाई राष्ट्रिय टिमबाट निलम्वन गरि टिमबाट बरखास्त गर्नु खेदजनक छ । उक्त गैह्र जिम्मेवार कदमको हामी घोर भत्सर्ना गर्न चाहन्छौं । साथै क्यानलाई आफ्नो गलत निर्णय तुरुन्त सच्याएर खेलाडीहरुलाई पुनर्वहाली गर्दै उहाँहरुसँग माफी माग्न माग गर्दछौं ।’ –विज्ञप्तीमा लेखिएको छ ।
क्यानले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित चार क्रिकेटरमाथि बुधबार कारबाही गरेको थियो । क्यानको बोर्ड बैठकले मल्ललाई कप्तान र ऐरीलाई उपकप्तानबाट पदमुक्त गरि नयाँ कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिएको थियो । त्यस्तै मल्ल र ऐरीसँगै सोमपाल कामी र कमल सिंह ऐरीलाई २०२२ को सेन्ट्रल कन्ट्र्याकमा शुरुको ६ महिना सहभागी नगराउने निर्णय गरेको थियो ।