काठमाडौं l नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पककमल दाहाल प्रचण्डले आइतबार एक औपचारिक कार्यक्रममा बोल्दै धितोपत्र बजार साम्राजवादको विकसित रूप भएको र पुँजीको लगानी पुँजीमै हुनु गलत रहेको अभिव्यक्ति दिए । उनको यो अभिव्यक्तिले दुई दिनमै नेपाली सेयर बजार १६८ अंकले घटिसकेको छ ।
डा. युवराज खतिवडाले अर्थमन्त्री बन्नै वित्तीकै सेयर बजारको लगानी अनुत्पादक भएको अभिव्यक्ति दिए । जसको कारण सेयर बजारमा लामो समयसम्म उच्च अंकले घट्यो । खतिवडाको अभिव्यक्तिपछि अर्थ मन्त्रालयको नीति सेयर बजारमैत्री नभएको भन्दै लगानीकर्ताले अनसनलगायतमा आन्दोलन नै गरेपछि बाध्य भएर उनले पुँजी बजार सुधारका लागि भन्दै अध्ययन समिति बनाए ।
त्यसअघि डा. बाबुराम भट्टराई अर्थमन्त्री भएका बेला सेयर बजार जुवाघर भएको अभिव्यक्ति दिए । जसको कारण नेपाली सेयर बजारमा ठूलो हलचल ल्याएको थियो । भट्टराईको कार्यकालमा सेयर बजार परिसूचक नेप्से तीन सयभन्दा तल झरेको थियो । डा भट्टराई प्रधानमन्त्री हुँदासमेत सेयर बजारमा नकारात्मक असर देखियो ।
देशको अर्थतन्त्रको अवस्था, कम्पनीको नाफा घाटा लगायतका वित्तीय विवरणका आधारमा सेयर बजार तलमाथि हुनुपर्ने हो । बजारलाई सरकारको आर्थिक नीति, बजेट तथा कार्यक्रम र मौद्रिक नीतिले पनि प्रभाव पार्छ । तर, लगानीकर्ताहरू सचेत नहुँदा उच्च नेता र मन्त्रीको अभिव्यक्तिले पनि प्रभावित हुने गरेको छ ।
‘सेयर बजार संवेदनशील हुन्छ, स-साना घटना र अभिव्यक्तिले पनि ठूलो असर पार्छ’ अर्थशास्त्री हरिबोल काफ्लेले भने, ‘त्यसैले सेयर बजारकाबारेमा नेता र मन्त्रीका अभिव्यक्तिले पनि बजार प्रभावित पार्छ ।’ उच्च ओहोदामा बसेका व्यक्तिहरूले शेयरबारे बोल्दा बजार संवेदनशिलतालाई ख्याल गर्नुपर्ने उनको भनाइ छ ।
यतिबेला नेपाली सेयर बजारमा ४० लाख हाराहारीमा लगानीकर्ता छन् । सेयरको डिम्याट खाता खोल्नेको संख्याको आधारमा लगानीकर्ताको संख्या उच्च भए पनि दोस्रो बजारमा नियमित सेयर कारोबार गर्नेहरूको संख्या न्यून छ ।
अधिकांश लगानीकर्ताहरू कम्पनीको वित्तीय परिसूचकका आधारमा भन्दा बजारको संवेदनशीलताका आधारमा निर्णय लिने गर्छन् । उच्च तहका व्यक्तिहरूले विना आधर नै अभिव्यक्ति दिए पनि त्यसले बजार प्रभावित गर्ने गरेको छ ।