अनेरास्ववियुद्वारा पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा ताला बन्दी

गन्थन संवाददाता, पोखरा । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले विद्यार्थीको सुरक्षाको माग गर्दै पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा क्याम्पस प्रमुखको कक्ष र शिक्षा प्रशासन शाखामा ताला लगाएका छन् ।

शुक्रबार बिहान करिब ५ बजे होस्टेलमा बस्ने विद्यार्थीहरुलाई कुटपिट गरि गम्भीर घाइते बनाइएको प्रति आपत्ती जनाउँदै अनेरास्ववियुले ताला लगाएको हो । मादक पदार्थ सेवन गरि मोटरसाइकलमा क्याम्पस प्रवेश गरि होस्टेलमा बस्ने विद्यार्थीलाई कुटपिट गराएको अनेरास्ववियुले विज्ञप्ती मार्फत जनाएको छ ।

कुटपिटका घाइते मध्ये एक लेखराज भट्टराईले क्याम्पसलाई उक्त गतिविधिमा संलग्न व्यक्तिहरुलाई कारवाही र क्षतिपुर्तिको माग सहितको निवेदन क्याम्पस प्रसाशनलाई बुझाएका छन् । उनले क्याम्पसभित्र विद्यार्थीको सुरक्षामा ध्यान दिन आग्रह गर्दै उचित न्यानको माग गरेका छन् । साथै भट्टराईले कुटपिटमा संलग्न व्यक्तिको नाम समेत निवेदनमा उल्लेख गरि कारबाहीको माग गरेका छन् ।

क्याम्पसमा यस्ता किसिमका गतिविधि नदोहोरिने गरि कदम चाल्नु आवश्यक रहेको अनेरास्ववियुका केन्द्रीय कमिटी सदस्य महेन्द्र उपाध्यायले बताए । क्याम्पस हाता भित्रै विद्यार्थीलाई कुटपिट तथा हातपात हुने निन्दनिय कार्य भएको हुँदा त्यस्ता व्यक्तिलाई कडा कारबाही हुनुपर्ने उनको भनाई छ । कुनै विद्यार्थीलाई अन्यायमा परेमा अनेरास्ववियु चुप लागेर नबस्ने उपाध्यायले बताए ।

यता सोही विषयलाई लिएर क्याम्पस प्रमुखसहितको प्रशासन बैठक समेत बसेको छ । बैठकले कुटपिटमा संलग्न विज्ञान कार्कीलगाएतका विद्यार्थीले मादक पदार्थ सेवन गरि पुरुष छात्रवासमा बस्ने केही विद्यार्थीहरुलाई कुटपिट गरि मोबाइल, ल्यापटप जस्ता सामानहरु तोडफोड गरेको र क्याम्पस प्रशासनको टिमलाई नै अभद्र व्यवहार गरेकाले आगामी ६ महिनाका लागि क्याम्पस हाताभित्र प्रवेश रोक्का र कुनै पनि शैक्षिक कार्यक्रममा प्रवेश गर्न नपाउने निर्णय गरेको छ ।

कुटपिटमा संलग्न सबै दोषीलाई कारबाही र प्रशासनले आधिकारिक निर्णय सार्वजनिक नगरिएसम्म ताला नखोलिने अनेरास्ववियुले जनाएको छ ।

 

 

 

 

 

कमेन्टहरु
Loading...