निर्माण सकिएको केही दिनमै जिर्ण बनेको ताथलीको पर्खाल

भक्तपुर । चाँगुनारायण नगरपालिकामा केही समय अगाडि मात्रै बनाएको पर्खाल जिर्ण बनेको छ । चाँगुनारायण नगरपालिका-९ ताथलीको पण्डित पधेँरोदेखि बालाटोल हुँदै सुडाल जोड्ने सडक खण्डमा लगाएको पर्खाल भत्किने अवस्थामा पुगेको हो ।

नगरपालिकाको गौरवको योजनाअन्तर्गत पर्ने यो पर्खाल ठेकेदारमार्फत निर्माण गरिएको थियो । पर्खाल निर्माणका क्रममा ठेकेदारले लापरवाही गरेका कारण कमजोर भएको वडाध्यक्ष गणेश त्यातले बताए ।

उनका अनुसार सो योजना फास्टट्रयाक सडकअन्तर्गत पर्छ । सडकको पर्खाल भत्किन लागेको भन्दै स्थानीयको गुनासो आएको थियो । सोही अनुरुप अनुगमन गर्दा निकै लापरवाही भएको देखियो, उनले भने, वडाका विभिन्न व्यक्ति तथा नगरपालिकाका प्राविधिकको उपस्थितिमा अनुगमन गरेका थियौँ ।

उनका अनुसार प्लम कंक्रिट विधिको वालमा एक भाग ढुंगा एक भाग मसला (ढलान) हाल्नु पर्नेमा त्यहाँ करिब ९० प्रतिशत ढुंगा मात्र राखेको पाइन्छ ।

नगरपालिकाका इञ्जिनियर पुरुषोत्तम शर्माले ठेकेदारले लापरवाही गरेको भेटिएको र बारम्बार ठेकेदारलाई खबर गर्दा पनि कुनै सुनुवाई नभएको बताए । उनका अनुसार एक तह ढुंगा, एक तह ढलान राखी बनाउनु पर्ने वालमा त्यहाँ त ढुंगाको मात्र चाङ लगाएको रहेछ । त्यसरी लगाएको ढुंगा छोप्न बाहिर घोला छ्यापिएको रहेछ । सो पर्खाल निर्माणाको जिम्मा निर्माण व्यवसायी लिला लामाले पाएका थिए ।

कमेन्टहरु
Loading...