विश्वकप छनोट : नेपाल मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्दै, नेपाललाई जित्नैपर्ने बाध्यता

युएईमा जारी आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज आफ्नो चौथौँ खेलमा मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

पहिलो खेलमा हार र दोस्रो र तेस्रो खेलमा जित निकालेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले अर्को चरणमा पुग्ने सम्भावना जीवितै राख्न नेपालले मलेसियाविरूद्ध जित निकाल्नैपर्ने बाध्यता छ । यदि मलेसियाविरूद्ध पराजित भए शीर्ष स्थानमा रहेर अर्को चरणमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त हुनेछ ।

खेल नेपाली समयअनुसार बिहान ११:१५ बजेदेखि सुरु हुनेछ ।

नेपालले प्रतियोगितामा दोस्रो जित हात पार्ने क्रममा बिहिबार कुवेतमाथि ९ विकेटको फराकिलो जित निकाल्यो । त्यसअघि नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको थियो । पहिलो खेलमा भने हङकङसँग ६ विकेटले पराजित भएको थियो ।

हालसम्म नेपालले मलेसियाविरूद्ध दुई अन्तर्राष्ट्रिय खेल खेलेको छ । दुबै खेलमा नेपालले मलेसियालाई हराएको छ ।

यी दुई टिमले एक अर्काविरुद्ध २०१९ मा टी-२० म्याच खेलेका थिए । जसअन्तर्गत पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपालले मलेसियाविरुद्ध ३४ रनको जित निकालेको थियो । लगभग छनोटबाट बाहिरिएको मलेसियाले आइसिसी टी-२० विश्वकप एसिया छनोटमा तीन खेलमध्ये २ खेले हारेको छ ।

यता नेपालले तीन खेलमा दुई जित र एक हारसहित तालिकामा ४ अंक जोडेर दोस्रो स्थानमा छ ।

अब नेपालले आइतबार लिगको अन्तिम खेलमा युएईसँग खेल्नेछ । यदि आज र आइतबार दुबै खेलमा जित हात पारे नेपाल विश्व छनोटमा पुग्नेछ । छनोटमा नेपालसहित घरेलु टोली युएई, भुटान, कुवेत, हङकङ र मलेसियाबीच प्रतिस्पर्धा भइरहेको छ । छनोटबाट एक टिम विश्व छनोटमा पुग्नेछ ।

छनोटअघि नेपालले कतारसँग ३ खेलको टी-२० सिरिज खेलेको थियो । सिरिज नेपालले क्लिनस्विप गरेको थियो । प्रतियोगिताको पाँचौँ खेलमा आइतबार घरेलु टोली संयुक्त अरब ईमिरेट्स (यूएई)विरुद्ध खेल्नेछ ।

नेपालको सम्भावित-११ : सीता राना मगर, इन्दु शर्मा, रुविना क्षेत्री (कप्तान), कविता जोशी, करुणा भण्डारी, ज्योति पाण्डे, सरस्वतीकुमारी चौधरी, सबनम राई, कविता कुँवर, अप्सरी बेगम र सरिता मगर ।

कमेन्टहरु
Loading...