आइसिसी टी-२० महिला विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले बिहीबार कुवेतलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ । यो नेपालको प्रतियोगितामा दोस्रो जित हो । मंगलबार भएको दोस्रो खेलमा नेपालले भुटानलाई ८ विकेटले जितेको थियो । सोमबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो ।
कुवेतले दिएको २८ रनको झिनो लक्ष्य नेपालले १ विकेटको क्षतिमा ३-३ ओभरमा पूरा गर्दै सानदार जित निकालेको छ ।
नेपालका लागि कप्तान रुबिना क्षेत्रीले नटआउट १२ रन र इन्दू बर्माले नटआउट १३ रन जोडे। रुबिनाले १० बलमा १ चौका हिर्काउँदा इन्दूले ८ बलमा १ चौका प्रहार गरिन्। सीता रानामगर भने शून्यमा आउट भइन् । त्यसअघि दुबईको आइसिसी एकेडेमीमा टस जितेर पहिले ब्याटिङ गरेको कुवेतलाई नेपालले १५-४ ओभरमा २७ रनमै अलआउट गरेको थियो ।
कुवेतका लागि प्रियदा मुरलीले सबैभन्दा बढी १० रन जोडिन् । अन्य ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए । कुवेतका ओपनर जीफा जिलानीसहित ६ जना ब्याटर शून्यमै आउट भएका थिए ।
बलिङमा नेपालका संगिता राई र रुबिना क्षेत्रीले ३-३ विकेट लिए । करुणा भण्डारी र सरस्वती चौधरीले १-१ विकेट लिए । संगिताले १६ ओभरको पहिलो, तेस्रो र चौथो बलमा विकेट लिएकी थिइन् । उनले २-४ ओभरमा २ रन मात्र खर्चिइन्। रुबिनाले ४ ओभरमा २ मेडन राख्दा ३ रन दिइन् ।
जितसँगै नेपालले ४ अंक जोडेर युएईसँग अंक बराबरी गरेको छ।
अब भोलि मलेसिया र २८ नोभेम्बरमा युएईसँग खेल्नेछ । दुवै खेलमा जित हात पारे नेपाल विश्व छनोटमा पुग्ने बलियो सम्भावना हुनेछ ।छनोटमा नेपालसहित घरेलु टोली युएई, भुटान, कुवेत, हङकङ र मलेसियाबीच प्रतिस्पर्धा भइरहेको छ। छनोटबाट एक टिम विश्व छनोटमा पुग्नेछ ।
यसअघि नेपालले अन्तिम पटक सन् २०१९ मा भएको खेलमा कुवतेलाई ३० रनले पराजित गरेको थियो ।