आइसिसी टी-२० महिला विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले खराब सुरुवात गरेको छ । सोमबार दुबईमा भएको खेलमा नेपाललाई हङकङले ६ विकेटले पराजित गर्याे ।
नेपालले दिएको १०५ रनको लक्ष्य हङकङले १८ ओभरमा ४ विकेट गुमाएर पार गर्याे । हङकङको जितमा ओपनर मारिको हिलले नटआउट ४४ रन जोडिन् । उनले ४२ बलमा ४ चौका प्रहार गरिन् । नतासा माइल्सले १६ रन, केरी चानले १७ रन र इमा लाइले नटआउट १३ रनको योगदान दिए ।
बलिङमा नेपालकी कविता कुँवर, सीता रानामगर र सबनम राईले १-१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३ विकेटको क्षतिमा १०४ रन जोड्यो । नेपालका लागि सीता रानामगरले ४० रनको योगदान गरिन् । उनले ५८ बलमा ४ चौका प्रहार गरिन् । इन्दू बर्माले नटआउट ३१ रन जोडिन् । उनले ३६ बलमा ३ चौका हिर्काइन् ।
त्यसअघि ओपन कविता कुँवर शून्यमा आउट हुँदा काजल श्रेष्ठले ४ रन भन्दा जोड्न सकिनन् । कप्तान रुबिना क्षेत्रीले नटआउट २ रन बटुलिन् । बलिङमा हङकङकी बेटी चान र केरी चानले १-१ विकेट लिए । छनोटमा नेपालले घरेलु टोली युएई, भुटान, कुवेत, हङकङ र मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । छनोटबाट एक टिम विश्व छनोटमा पुग्नेछ ।
छनोटअघि नेपालले कतारसँग ३ खेलको टी-२० सिरिज खेलेको थियो। सिरिज नेपालले क्लिनस्विप गरेको थियो ।