हर्नियाको शल्यक्रियाले दृष्टि गुमेपछि

तनहुँ । शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडाका दुई वर्षीय बालक अनिप तामाङको हर्नियाको शल्यक्रियापछि आँखाको दृष्टि गुमेको छ । गत भदौ २० गते पोखरास्थित ‘मेडिप्लस हस्पिटल’मा सो शल्यक्रिया गरिएको बताइएको छ ।

दृष्टि गुमेपछि अहिले छोरा बोल्न र हिँड्नसमेत नसक्ने अवस्थामा पुगेको बालकका आमा सानीले जानकारी दिए । ज्याला मजदुरीका भरमा जीविकोपार्जन गर्दै आएको सो परिवारमा आर्थिक अवस्थाका कारण छोराको उपचार गराउन नसकेपछि घरमा राख्दै आएका थिए ।

मकवानपुरको भीमफेदी घर भई हाल तनहुँको दुलेगौँडामा तामाङ परिवार ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका छन् ।

सो परिवारको समस्याका बारेमा स्थानीय युवा समाजसेवी शङ्कर पन्तले थाहा पाएपछि उनकै नेतृत्वमा युवा समूहले रु ५५ हजार सङ्कलन गरी बिहीबार तामाङ परिवारलाई हस्तान्तरण गरेका छन् । पहिलो चरणमा बालकको शारीरिक अवस्था र रोग पहिचान गर्न उक्त रकमले सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए ।

रोग पहिचान भई उपचार सम्भव हुने अवस्थामा युवा समूहले अभियान चलाएरै रकम सङ्कलन गरी बालकको उपचारमा सहयोग गर्ने योजना रहेको उनले बताए । छोराको उपचार गराउने चाहना हुँदाहुँदै पनि आर्थिक अभावका कारण अस्पतालमा लैजान नसकेर घरमै राख्नुपरेको आमा सानीले गुनासो गरिन् ।

कमेन्टहरु
Loading...