तनहुँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गरेका छन् । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको निरीक्षण गर्दै घिसिङले तोकिएको समयभन्दा एक वर्ष अगावै आयोजनाको निर्माण कार्य सम्पन्न गर्न आग्रह गरे ।
“महत्वपूर्ण दातृ निकायको सहभागिता रहेको आयोजना तोकिएकै समयभित्र सम्पन्न गरेर उदाहरण प्रस्तुत गर्नुपर्छ,” घिसिङले भने । सहकार्य गरेर काम गर्नुपर्नेमा उनले जोड दिए ।
घिसिङले बाँधको निर्माणकार्य ढिलाइ भएको उल्लेख गर्दै यसलाई प्राथमिकता दिएर काम अगाडि बढाउन निर्देशन दिए । कार्यकारी निर्देशक घिसिङलाई तनहुँ हाइड्रोपावरका प्रबन्ध निर्देशक किरण श्रेष्ठले आयोजनाको प्रगतिबारे जानकारी गराएका थिए । आयोजनाले तीन वटै प्याकेजका कामलाई निरन्तरता दिइरहेको छ ।
आयोजना प्रमुख अच्युत घिमिरेले प्याकेज १ अन्तर्गतको कामका लागि मोबाइल क्रसर प्लाण्ट निर्माण, खोला क्रसिङ गर्ने काम भइरहेको जानकारी दिए। प्याकेज २ अन्तर्गत सिनो हाइड्रोले भूमिगत काम गरिरहेको छ । जसअनुसार हाल पाँच ठाउँमा काम भइरहेको छ । आयोजना प्रमुख घिमिरेका अनुसार पावरहाउस, वर्क टनेल, सर्च ट्याङ्क लगायतका काम भइरहेको छ । प्याकेज ३ अन्तर्गतको प्रशारण लाइन निर्माणको कामले पनि तीव्रता पाएको छ ।