पोखरा । पोखरामा आजबाट १८ वर्षमुनिका र १२ वर्षभन्दा माथिका दीर्घरोगी बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइँदै छ । अमेरिकाले उपलब्ध गराएको १ लाख ६ सय २० मात्रा फाइजर खोप १८ वर्षमुनिका र १२ वर्षभन्दा माथिका दीर्घरोगी बालबालिकालाई लगाउन लागिएको हो ।
खोप कार्यक्रम बिहान १० बजेदेखि सुरु हुने भएको छ । खोप लगाउने तयारी पूरा भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ‘पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. भरत खत्रीले जानकारी दिए ।
पोखरामा पहिलो चरणमा १५ देखि १८ सय मात्रा खोप लगाईने उनले बताए । अहिले १५ देखि १८ सय मात्रा खोप लगाउने योजना हो उनले भने “मुटुरोगी, दमका रोगी, क्यान्सर, मिर्गौला, मधुमेह, रोग प्रतिरोधात्मक क्षमता कमजोर रहेका लगायतका बालबालिकालाई पहिलो प्राथमिकतामा राखिएको छ ।” उनीहरुलाई लगाएर बाँकी रहेको खण्डमा अरु बालबालिकालाई पनि खोप लगाईने निर्देशक डा. खत्रीले बताए ।
१२ वर्षदेखि १८ वर्षमुनिका झन्डै ५० लाख बालबालिकालाई पुग्ने गरी फाइजर र मोडर्नाको खोपका लागि सरकारले बुक गरेर रकम पनि निकासा गरिसकेको छ । खोपको दोस्रो मात्रा आगामी मङ्सिर २७ देखि पुस २ गतेसम्म सञ्चालन गर्ने बताइएको छ ।
खोप केन्द्रमा जाँदा चिकित्सकले प्रिस्काइब गरेका पुर्जा वा चिकित्सकले उपचार गरिरहेको कागज लिएर जान डा। खत्रीले आग्रह गरेका छन् । सरकारले फाइजरको खोपलाई ९५ प्रतिशत प्रभावकारी रहेको बताएको छ ।
सरकारले खोप लगाउनका लागि देशभर २४ खोप केन्द्रहरू तोकेको छ ।
१. मेची अस्पताल, चन्द्रगढी, झापा
२. कोशी अस्पताल, विराटनगर, मोरङ
३. वी. पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, सुनसरी
४. गजेन्द्र नारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, राजविराज, सप्तरी
५. जनकपुर अस्पताल, जनकपुर, धनुषा
६. नारायणी अस्पताल, विरगञ्ज, पर्सा
७. वी. पि. कोइराला क्यान्सर अस्पताल, भरतपुर, चितवन
८. गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, कास्की
९. धवलागिरी अस्पताल, बाग्लुङ्ग
१०. लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल, रुपन्देही
११. भेरी अस्पताल, नेपालगञ्ज, बांके
१२. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङ
१३. कर्णाली प्रादेशिक अस्पताल, विरेन्द्रनगर, सुर्खेत
१४. डडेलधुरा अस्पताल, डडेलधुरा
१५. सेती अस्पताल, धनगढी, कैलाली
त्यसैगरि खोप कार्यक्रम सञ्चालन गर्न छनौट गरिएका २४ अस्पतालहरूमध्ये ९ वटा अस्पताल काठमाडौं उपत्यकाभित्र रहेका छन् । काठमाडौं उपत्यका भित्रका खोप केन्द्रहरू
१. वीर अस्पताल, महाबौद्ध, काठमाडौं
२. त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज, काठमाडौं
३. निजामती सेवा अस्पताल, मीनभवन, काठमाडौं
४. शहिद गङ्गालाल हृदयरोग केन्द्र, बाँसवारी, काठमाडौं
५. भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर
६. शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर
७. पाटन अस्पताल, लगनखेल, ललितपुर
८. वीरेन्द्र सैनिक अस्पताल, छाउनी, काठमाडौं
९. धुलिखेल अस्पताल, धुलिखेल, काभ्रे