बागलुङको ताराखोलामा मनाइन्छ भुस पोल्ने पर्व

बागलुङ । बागलुङको ताराखोला गाउँपालिकामा भुस पोल्ने पर्व मुख्य पर्वको रुपमा प्रचलित छ । अर्गेली मगर समुदाय सामूहिक कृषि खेतीमा परिणत भएको दिनको सम्झनामा मनाइने पर्वलाई यहाँका स्थानीयले भुस पोल्ने पर्वको रुपमा मनाउँदै आएका छन् । “भुस पोल्ने पर्वपछि बल्ल यहाँका स्थानीयले यो वर्षको खेती लगाउने चलन रहेको छ ।

पन्ध्रौँ शताब्दीपछि पाल्पाको अर्गलीबाट विस्थापित भएर आर्गली मगर समुदाय यहाँको ताराखोलाको अर्गलमा आएर बसाई सरेको इतिहास रहेको छ । यहाँ आएपछि सामूहिकरुपमा खेती गर्न सुरु भएको दिनलाई भुस पोल्ने पर्वको रुपमा मनाइँदै आएको छ । कात्तिकको २६ गतेलाई बीउ छर्ने (छापो हाल्ने) दिनको रुपमा यहाँका मगर समुदायले भव्यरुपमा मनाउँदै आएका छन् । गत वर्ष कोरोनाका कारण परम्परामात्रै धान्य काम भएकोमा यस वर्ष धुमधामसँग भुस पोल्ने पर्व मनाइएको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए। तीन दिनसम्म मनाइने भुस पोल्ने पर्व पहिलो दिन भुस पोल्ने, दोस्रो दिन खनजोत गर्ने र तेस्रो दिन बीउ छर्ने काम हुन्छ ।

पर्वको मूल समारोह शुक्रबार गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालको प्रमुख आतिथ्यतामा छापो हाल्ने कार्य भएको थियो । मन्त्री बरालले ताराखोला पर्वको उद्गमस्थल रहेको बताए । कार्यक्रममा मन्त्री बरालको उद्घाटनसँगै अर्गलको सङ्खुगरोमा अविवाहित युवायुवतीले छापो हालेर जौ छरेर पर्व मनाएका थिए ।

पर्वका अवसरमा आफ्ना समुदायका मानिसको मृत्यु र जन्म संस्कारसँग सम्बन्धित गोपीचन गीत गाउने र नाच्ने गर्दछन् । पर्वको मुख्य दिन कात्तिक २६ गते मगर समुदायभित्र एक वर्षभरि मृत्यु भएका आफ्ना परिवारका सदस्यको बरखी फाल्ने चलन भए पनि यस्तो चलन भने विस्तारै हराउँदै गएको स्थानीय सूर्यबहादुर घर्ती मगरले बताए ।

 

रासस

कमेन्टहरु
Loading...