गन्थन संवाददाता, पोखरा । पोखराको प्रस्याङस्थित गणतन्त्रचोकको जेब्राक्रसमा सवारीले ठक्कर दिँदा १४ वर्षिय शुभम खनालको मृत्यु भएको ४ दिन पुरा भैसक्दा पनि घटनाको अवस्था प्रहरीले पत्ता लगाउन नसकेका कारण छिटो भन्दा छिटो वास्तविक घटनाको प्रकृति पत्ता लगाउन विभिन्न आमा समूहले दवाव दिएका छन् । आज पोखरा ५ का सहनशिल, शिवालय र सफल आमा समूहले सयुक्तरुपमा वडा प्रहरी कार्यालय बैदाम कार्यालयमा गई छिटो भन्दा छिटो वास्तविकता पत्ता लगाउन दवाव दिएका हुन् ।
आइतबार साँझ करिब साढे ५ बजे शुभम प्रस्याङमा बाटो काट्ने क्रममा सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको थियो । कुन र कस्तो प्रकारको सवारीले ठक्कर दिएको भन्ने अझै पहिचान हुन सकेको छैन । स्थानियका अनुसार मोटरसाइकल भनिएपनि सीसीटिभी फुटेजमा समेत नदेखिँदा कसले ठक्कर दिएको भन्ने नै पत्ता लगाउन नसकिएको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भिर घाईते बनेका शुभमलाई स्थानीयले सडकमा लडेको अवस्थामा देखेका थिए । घटनास्थल नजिकै देउसीभैलोको नाचगान चलिरहेकोले पनि सडकमा दुर्घटना हुँदा थाहै नपाएको स्थानिय बताउँछन् । शुभमको शवको सोमवार नै पोष्टमार्टम गरी तनहुँ दमौलीमा लगेर अन्त्येष्टि गरिसकिएको छ ।
प्रहरी टोलीले सिसी क्यामराबाट ठक्कर दिने सवारीसाधन पत्ता लगाउने कोशिस गरेपनि अहिलेसम्म कुनै पत्तो नलागेको कास्की प्रहरीले जनाएको छ ।