मुस्ताङ । मुस्ताङी स्याउ र आलु धौलागिरिका बागलुङ, म्याग्दी, मुस्ताङ, पर्वतसहित कास्की, तनहुँ स्याङजालगायतका जिल्लामा कोसेलीको रुपमा खुबै प्रयोग हुन थालेको छ । अहिले बजारमा मुस्ताङको स्याउ विस्तारै सकिने अवस्थामा पुगेको छ भने आलुको याम सुरु भएको छ । स्याउजस्तै मुस्ताङी आलु पनि मीठो मानिन्छ । उच्च हिमाली क्षेत्रमा फलेको आलु निकै स्वादिष्ट हुने भएकाले महँगो मूल्य तिरेरसमेत उपभोक्ताले खरिद गर्ने गरेका छन् । बजारमा मुस्ताङी आलुको माग उच्च रहेको फलफूल तथा तरकारी व्यवसायी बताउँछन् ।
दसैँ तिहारका याममा झण्डै चार हजार केजी स्याउ बिक्री गरेको यहाँका फलफूल तथा तरकारी व्यापारी बागलुङका शङ्कर रेग्मीले जानकारी दिए । उनले स्याउ मात्रै हैन, मुस्ताङको आलुको समेत बजारमा उच्च माग भइरहेको बताए । उनले मात्रै दशै तिहारकै बीचमा पाँच हजार केजी मुस्ताङी आलु बिक्री गरिसकेका छन् ।
“मुस्ताङको स्याउ बजार ल्याउनै समस्या छ, अन्य जिल्लाबाट समेत मुस्ताङको स्याउको माग भइरहेकाले बल्ल तल्ल स्याउ आउँछ, आलुको अवस्था उस्तै छ”, उनले भने, “मुस्ताङको टुकुचे, सिस्याङ भन्ने स्थानबाट आलु आयात गर्दै आएको छ, बजारमा स्याउजस्तै आलुको समेत उच्च माग रहेको छ, मुस्ताङी आलुको माग पुर्याउनै मुस्किल छ ।”
अहिले धेरै व्यापारीले मुस्ताङको आलु र स्याउको बजारमा आयात गर्दै आएका छन् । अहिले मुस्ताङी स्याउको प्रतिकेजी रु १७० र आलु प्रतिकेजी रु ८५ मा किनबेच भइरहेको छ ।