लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ पामचोकमा साग भनेर धतुरोको तरकारी खाँदा एकजनाको मृत्यु भएको छ भने दुईजना बिरामी भएका छन् ।
लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीका अनुसार साग भनेर धतुरोको तरकारी खाँदा ८३ वर्षीया पवित्रा खड्काको मृत्यु भएको हो । धतुरोको तरकारी खाएर बेहोस परेका ५७ वर्षीया धनकुमारी अधिकारी र ६९ वर्षीया ठगीमाया भण्डारी बेसीशहरस्थित जिल्ला अस्पतालमा उपचारपछि घर फर्किएका छन् । प्रहरीका अनुसार आँखा कमजोर अवस्थाका उनीहरूले साग भनी धतुरोको तरकारी बनाएर खाएका थिए ।
आइतबार साँझ खानासँग धतुरोको तरकारी खाएका उनीहरू राति बेहोस भएको डिएसपी कार्कीले बताए । उनका अनुसार सोमबार बिहान अबेरसम्म ढोका नखोलेपछि छिमेकीले गएर हेर्दा सबैजना बेहोस अवस्थामा भेटिएका थिए ।