गोरखा । स्क्रब टाइफसका कारण गोरखामा एक जनाको मृत्यु भएको छ । भीमसेन थापा गाउँपालिका-६ थापाटारका ६७ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । भीमसेन थापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले उनको स्क्रव टाइफसकै कारण मृत्यु भएको जानकारी दिए ।
अचानक ज्वरो बढेपछि उनलाई गोरखा अस्पताल लगिएको थियो । गोरखा अस्पतालले उपचार गर्न नसक्ने जानकारी दिएपछि भरतपुर रिफर गरिएको थियो । अस्पताल लगेको २४ घण्टा नपुग्दै उनको मृत्यु भएको हो ।
यसअघि आरुघाट गाउँपालिकामा ३५ जनालाई स्क्रव टाईफस पुष्टि भएको थियो । पशुमा लाग्ने किर्नाबाट सर्ने स्क्रव टाइफसका कारण मृत्यु हुने गोरखामा यो नै पहिलो घटना हो ।