मुस्ताङ । डोल्पाको उपल्लो भागबाट १ साताको पैदल हिँडाएर बिक्री गर्न याक तथा चौरीहरु मुस्ताङ झारिएका छन् । हिमाली तथा उच्च पहाडी क्षेत्रमा व्यावसायिक रुपमा पालिएका याक तथा चौरी बर्सेनि बडा दशै अघि देखि बिक्रीका लागि याक मुस्ताङ झारिएका छन् ।
डोल्पाका उपल्लो भागमा अधिकांश स्थानीयले याक तथा चौरी पालन गर्छन् । हिमाली क्षेत्रको करिब ३ हजारभन्दा माथिको उचाइमा गोठनै खडा गरेर याक तथा चौरी पालन व्यवसाय गरिएको छ । प्रतियाकको मुल्य १ लाखदेखि १ लाख २५ हजार सम्म पर्ने डोल्पाका स्थानीय याक व्यवसायी निमा छेतेनले जानकारी दिए । कोरोना भाइरसका कारण विगत ३ वर्षदेखि तिब्बतबाट भेडा च्यांग्रा मुस्ताङ नआएपछि मुस्ताङको जोमसोममा याक चौरी सजिलै बिक्री भएको छ। यो वर्ष याक तथा चौरीको मूल्य गतवर्षको भन्दा १० प्रतिशत बढी मुल्यमा बिक्री भईरहेको छ ।
हिमाली तथा उच्चलेकको चिसो हावापानीमा हुर्केका याक चौरीले वनका जटीबुटी सेवन गर्ने भएकाले तिनको मासु स्वादिलो र स्वास्थ्यर्वधक हुने कथन रहेको छ । डोल्पाको उपल्लो भागमा याक, चौरीलाई माल सामान ढुवानीका लागि प्रयोग गरिन्छ । स्थानियले चौरीबाट दूध, दही, घ्यु र छुर्पी आदि बनाउने गर्छन् ।
मुस्ताङमा वर्षेनी वैशाख र साउन महिनामा याक चौरीको आलो रगत खाने मेला लाग्छ । याक चौरीको आलो रगत खाएको खण्डमा दीर्घ रोग निको हुने विश्वास छ । बाहिरी जिल्लाबाट समेत उल्लेख्य सर्वसाधारण चौरीको रगत खान मुस्ताङ आउने गर्छन् । अहिले कोरोना कहरका कारण मुस्ताङमा लगातार ३ वर्षदेखि चौरीको आलो रगत खाने मेला हुन सकेको छैन।