पोखरामा नाटक निर्देशन कार्यशाला

पोखरा । गण्डकी प्रदेशस्तरीय नाटक निर्देशन कार्यशाला पोखरामा सुरु भएको छ । कार्यशालामा प्रदेशका मनाङ र मुस्ताङबाहेक नौ जिल्लाका २२ जनाको सहभागिता रहेको छ । गण्डकी प्रदेशका शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले कार्यशालाको उद्घाटन गर्दै नाटक निर्देशन कार्यशालाले प्रदेशको नाट्य क्षेत्रलाई थप क्रियाशील बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । नाटकमा पस्कने सामग्री जस्ताको तस्तै दर्शकमाझ पुग्ने भएकाले यसरी पस्कने सामग्रीमा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै उनले प्रदेश नाट्य क्षेत्रको विकासमा सदैव साथ र सहयोग रहने बताए ।

नेपाल सङ्गीत तथा नाट्य एकेडेमीका पूर्वसदस्य सचिव समेत रहेका संस्कृतीकर्मी तिर्थ श्रेष्ठले गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापनासँगै प्रदेशको साहित्य तथा कलाको क्षेत्रमा केही सकारात्मक सङ्केत देखिएको बताए ।

कोरोनाका कारण थला परेको नाट्य क्षेत्रलाई चलायमान बनाउन कार्यशालाले सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै उनले भने, “नेपालको नाट्य क्षेत्रमा पोखराको बेग्लै छाप रहेको छ ।” गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा भएको कार्यक्रममा समाजशास्त्री डा विश्वकल्याण पराजुली, पोखरा थिएटरका अध्यक्ष परिवर्तन, गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, प्राज्ञ सदस्य सुरेन्द्र गुरुङलगायतले नाट्य क्षेत्रको आवश्यकता र यसको महत्व माथि चर्चा गरेका थिए ।

कार्यशालाले गण्डकी प्रदेशमा नाटकप्रतिको आर्कषण बढाउन सहयोग पुग्ने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठको भनाइ छ । उनका अनुसार प्रतिष्ठानले यो वर्ष नाटकसँग सम्बन्धित तीनवटा कार्यक्रमको आयोजना गर्ने छ । एघार दिनसम्म सञ्चालन हुने कार्यक्रममा १५ जना प्रशिक्षकले प्रशिक्षण दिने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए । कार्यशाला यही कात्तिक १५ गतेसम्म चल्नेछ । पोखरा थिएटरसँगको सहकार्यमा आयोजित कार्यशाला पोखरा थिएटरको गन्धर्व नाटकघरमा सञ्चालन भएको छ ।

कमेन्टहरु
Loading...