आन्तरिक पर्यटकले भरिभराउ भए बन्दिपुरका होटल

दमौली तनहुँको पर्यटकीय नगरी बन्दिपुरका होटल आन्तरिक पर्यटकले भरिएको छ । दसैँ बिदामा आन्तरिक पर्यटक बन्दिपुर उक्लिएपछि यहाँका होटल भरिभराउ भएका छन्। कोरोना कहरका कारण प्रभावित भएका यहाँका होटल व्यवसायी आन्तरिक पर्यटकको चहलपहल बढेपछि आशावादी देखिएका छन् । कोरोना कहरका कारण दुई वर्षदेखि बन्दिपुरको पर्यटन प्रभावित भएको थियो । दसैँको फूलपातीदेखि बन्दिपुरमा आन्तरिक पर्यटनमा वृद्धि भएको बन्दिपुर पर्यटन विकास समितिका सचिव बसन्त पौडेलले जानकारी दिए ।

“दसैँ बिदाका कारण बन्दिपुरमा यतिबेला आन्तरिक पर्यटकको भीडभाड छ । “होटल पनि भरिभराउ छन् ।”कोरोनाका कारण सुस्ताएको बन्दिपुरको होटल व्यवसायीमा अहिले आशा पलाएको छ । “दुई वर्ष यहाँको व्यवसाय ठप्प रह्यो, अहिले पर्यटकको चहलपहलले आशा जगाएको छ,” उनले भने, “यो क्रम निरन्तर रहे व्यवसायीलाई राहत हुन्छ । ”

होटल दरबार हिमालयका सञ्चालक वैश गुरुङले स्वदेशी पाहुनाको आगमन बढेसँगै व्यवसायीमा आशा जगाएको बताए । “होटल भरिभराउ छन्, कोठा नपाएर फर्किने पनि छन् । “कोरोनाले व्यवसाय सुस्ताएको छ, अब विस्तारै व्यवसायले गति लिनेमा आशावादी छौ ।” चाडपर्वमा घुम्ने संस्कृतिको विकास भएकाले दसैँमा आन्तरिक पर्यटक बन्दिपुर भ्रमणका लागि आएको उनले जानकारी दिए ।

“अधिकांशले कोरोना विरुद्धको खोप लगाएका कारण पनि घुम्न निस्किएका छन्, कोरोना कहरले घुम्न नपाएका कारण पनि अहिले मानिस घुम्न थाले,” उनले भने । गुरुङका अनुसार बन्दिपुरमा अहिले बास बस्नेको सङ्ख्या एक हजार भन्दा बढिरहेका छन् । “घुम्न मात्रै आउनेको सङ्ख्या पनि अत्याधिक छ, बन्दिपुरका होटलको क्षमता अनुसार बास बस्नेको सङ्ख्याले होटल भरिएको छ”।

बन्दिपुरका होटल व्यवसायीले छुट प्याकेजसमेत ल्याउने तयारी गरेका छन् । बन्दिपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानका अनुसार पर्यटक आकर्षित गर्न छुट प्याकेज ल्याउने तयारी छ । बटन्दीपुरमा होटल सङ्घसँग आवद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् । ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, वोल्डईन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दिपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालनमा छन् ।

बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायतका हिमशृङ्खला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतकास्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ ।

कोलाहल, धुवाँधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकालाई बन्दीपुर उत्कृष्ट गन्तव्यको रुपमा विकास भइरहेको छ । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै ८ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । १८औँ शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवारले भक्तपुरे शैलीमा घर र ढुङ्गा बिछ्याइएको बाटो निर्माण गरेका थिए । बन्दीपुरमा अहिले पनि घर निर्माणमा मौलिकता अपनाउने गरिएको छ । बन्दीपुर बजारमा भएका पुरानो घरको आकर्षणले गर्दा पर्यटकको आगमन बढ्दै गएकाले गाउँपालिकाले बजार क्षेत्रभित्र आधुनिक र पश्चिमेली शैली झल्किने गरी घर बनाउने निषेध गरेको छ ।

रासस/कृष्ण न्यौपाने

कमेन्टहरु
Loading...