म्याग्दी । संसारको सातौँ, आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेका छन् । धवलागिरि गाउँपालिका–४ मा पर्ने उक्त हिमालमा पूर्णिमा श्रेष्ठ र पासाङ ल्हामू शेर्पा अकिताले सफल आरोहण गरेका हुन् । काठमाडौँको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत उनिहरु यही असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि हिमाल आरोहणमा गएका थिए।
सेभेन समिट ट्रेकिङका सञ्चालक मिङ्मा शेर्पाले पूर्णिमासहित आफ्नो कम्पनीका २० जनाले आज बिहान ५ः०० बजे धवलागिरिको सफल आरोहण गरेका जानकारी दिए । “धवलागिरि हिमालमा नेपाली महिलाले पहिलोपटक आरोहण गरेका हुन्”, उनले भने, “धवलागिरिमा यसअघि नेपाली महिलाले सफल आरोहण गरेको रेकर्ड छैन ।”
श्रेष्ठसँगै गएकि माया शेर्पालगायतले आरोहण गरे÷नगरेको पुष्टि हुन बाँकी रहेको शेर्पाले बताए । पासाङ विश्वकै दोस्रो सर्वोच्च शिखर माउन्ट के(२ चढ्ने प्रथम नेपाली महिला आरोही पनि हुन् । पत्रकारसमेत रहेकी गोरखा आरुघाटकी पूर्णिमाको टोलीले यसअघि गत वैशाख ३ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आठ हजार ८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए ।
पूर्णिमाको टोली अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला हुन् । शेर्पा (पथप्रर्दशक) पेम्बा शेर्पाको सहयोगमा पूर्णिमाले धवलागिरि आरोहण गरेकि हुन् । पूर्णिमा कारोबार आर्थिक दैनिकमा कार्यरत पत्रकार हुन् । उनले यसअघि सन् २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा आमाडब्लम हिमालको आरोहण गरकी थिइन् ।
पूर्णिमाले आधार शिविर जानुअघि बेनीमा कोरोनाको दोस्रो लहर फैलिएपछि रोकिएका गत याममा गर्ने भनेको धवलागिरि आरोहण गर्ने लक्ष्य यसपालि पूरा गर्न लागेको बताएकी थिइन् ।
रासस