पोखरा । राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले सरकारले एमसीसी पारित गराउनको लागी संसद बोलाइएको दावी गरेका छन् । सत्ता गठबन्धनको सहयात्री दल रहेको राष्ट्रिय जनमोर्चाले मंगलबार पृथ्विचोकमा आयोजना गरेको बिरोध सभामा बोल्दै अध्यक्ष बरालले उक्त दावी प्रस्तुत गरेका हुन् ।
उनले राजनितिक दलहरु पैसामा बिक्ने प्रवृतिका कारण संसदहरु एमसीसीको पक्षमा खरिद गर्नको लागी अमेरिकन प्रतिनिधी नेपाल आउन लागेको आरोप लगाएका छन् । सत्ता गठबन्धनले लिखित रुपमा ल्याएको निति तथा कार्यक्रममा एमसीसीको बिषयलाई संसदमा नल्याउने सहमति भएपनी ल्याइएको भन्दै आपत्ति समेत प्रकट गरेका छन् ।
उनले संसद बिघटन गरेर ल्याएको प्रतिगामी कदमलाई अदालतले गलत साबित गरेको भन्दै केपी ओलीलाई एमसिसि खारेज अभियानमा लाग्न अनुरोध गरेका छन् । कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य नारायण अधिकारी, अन्टुकका केन्द्रीय सदस्य नाम बहादुर बाठा मगरलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम राष्ट्रिय जनमोर्चा कास्कीका अध्यक्ष रविमोहन ढकालको अध्यक्षता र सहसचिव बिक्रम थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।