बा कहिल्यै रुनुभएन (कविता)

 

दुःखको रूखो समयमा
जब एक्लै घरको छेउमा बसेर
रूनुहुन्थ्यो आमा
मायाले सम्झाउँदै भन्नुहुन्थ्यो बा
‘ न रो ,जे परे पनि म छु नि ।’

हामी नादान थियौं
बाआमालाई हेरि मात्रै रहन्थ्यौं
आमा झन झन
सुङ्क सुङ्क गर्दै रूनु हुन्थ्यो
तर बा पटक्कै रूनु हुन्थेन
वरू पानी पिउनु हुन्थ्यो

दुःखलाई अमृत बनाएर
घुट् घुटी निल्नु हुन्थ्यो
त्यो कारूणिक दृष्य
हामी टुलु टुलु हेरिरहन्थ्यौं ।

हामी त्यो दुःखलाई
न स्पर्स गर्न सक्थ्यौं
न महसुस
आमा आँशुले दुःख पखालेर
हल्का हुनु हुन्थ्यो
बा आशुले दुःख निलेर मुस्कुराउनुहुन्थ्यो

असह्य वेदनाहरू लुकाउँदै
मैन वत्ती झैं जलेर उज्यालो दिईरहने बा
सधैं भनी रहनु हुन्थ्यो
‘धेरै नरो ,जे भए पनि म छु नि’
बा दुःख संग जुधी रहनु हुन्थ्यो ।

हामी बालाई हेरिरहन्थ्यौं,
परेली भित्रै आँशु सुकाएर ,
मुटुभित्रै दुःख लुकाएर
फिस्स हाँस्नु हुन्थ्यो बा
र भन्नु हुन्थ्यो-
‘दुःखी नहुनु जे परे पनि म छु नि ।’

भित्र भित्र सेती सुसाएपनि
आमा झैं कहिल्यै रूनु भएन बा
सायद आँशु पसिनाको नदी वनेर बगिरहन्थो ।

मायाको माछापुछ्रे भएर फेवातालमा पग्लिनुहुन्थ्यो १
बा भन्नुहुन्थ्यो -“न रो जे परे पनि म छु नि”
यसो भन्दा भन्दै आखिरमा
सलाईको काटिझै सल्किनु भो बा मादीको तिरमा।

जीवनको अन्तिम घडिमा पनि
संझाउदै हुनुहुन्थ्यो बा
“भो न रो म गए पनि हाम्रो मायाको चिनो आशाको लौरी छोरो छ नि”
यसो बोल्दा बोल्दै
हाम्रै सामु मुढो झै ढल्नु भो बा

फेरि कुनै
बिहानीमा नउठ्ने गरि
अन्ततस् हामी सवैलाई छोडेर,
जिउदो हुदाको दुःख
आफ्नै छातीभित्र लुकाएर

एक मुट्ठी सास बसेको आत्मा
कता पठाएर
अनन्त यात्रामा जानु भो बा
कहिल्यै नफर्कने गरि
हामीलाई टुहुरो बनाएर

ओझेल पर्नुभो बा
कहिल्यै नदेखिने गरि
कहिल्यै नदेखिने गरि ।

 

-वद्रीविनोद प्रतीक, पोखरा

कमेन्टहरु
Loading...