काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सात प्रदेशमा प्रसूति तथा स्त्रीरोगसम्बन्धी सेवा विस्तार गर्ने तयारी गरिएको बताएका छन् ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६२ औँ वार्षिकोत्सव कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले सात प्रदेशमा स्त्रीरोग अस्पताल निर्माण गरेर सेवा विस्तार गर्न थालिएको जानकारी दिएका हुन् । उहनले महिलामा स्वास्थ्य समस्या धेरै देखिने भएकाले प्रसूति तथा स्त्रीरोग अस्पतालको सेवा पनि विस्तार गर्नुपर्ने बताएका हुन्।
राज्यमन्त्री श्रेष्ठले यस अस्पताललाई स्त्रीको स्वास्थ्य हेरचार तथा अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्ने धारणासमेत राखेका छन् । अस्पताललाई सुविधा सम्पन्न बनाउनका लागि मन्त्रालय लागिपरेको बतउदै, “यहाँ भएका साधनस्रोतलाई उपयोग गर्ने हो भने सम्भावना धेरै छन्”, उनले भने, “अस्पतालले मन्त्रालयसँग के अभाव छ । त्यसको माग गर्न प¥यो । हामी उपलब्ध गराउन तयार छौ ।”
दूरदराजका जनताले अझै स्वास्थ्य सेवाबाट बञ्चित हुनुपरेको उल्लेख गर्दै ती क्षेत्रका जनतालाई सेवा उपलब्ध गराउनुपर्ने भनाइ व्यक्त गरे। कोरोना भाइरसविरुद्धको खोप सरकारको प्राथमिकता रहेको भन्दै ४० लाख मोडर्ना र ६० लाख फाइजर खोप ल्याउन पहल भइरहेको जानकारी दिएका छन् । अहिले २० प्रतिशत पहिलो मात्रा र १३ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।
कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेलले प्रसूति अस्पताललाई व्यवस्थित गर्न मन्त्रालय लागिपरेको बताएका छन् । उनले अस्पतालमा ७०० शय्या थप गर्न मन्त्रालयले सहयोग गर्ने जानाकारी गराएका छन् ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्र रहेका अस्पतालको स्तरोन्नति गर्न आफूहरुले सहयोग गर्ने, भन्दै अस्पताललाई आवश्यक ४० वटा भेन्टिलेटर महानगरले वितरण गरिसकेको र थप ५ वटा चीनबाट आएपछि वितरण गर्ने बताए ।
अस्पतालका निर्देशक डा सङ्गीताकौसल मिश्राले अस्पतालमा थप २०० शय्या थप गर्न गइरहेको जानकारी दिएका छन् । उनले ‘ह्युमन मिल्क बैंक’ र ‘टेस्ट ट्युब’बाट बच्चा जन्माउन प्रक्रिया चाँडै नै सुरु गर्ने जानाकारी दिएका छन् ।
अस्पतालका उपनिर्देशक डा श्रीप्रसाद अधिकारीका अनुसार हरेक वर्ष करिब २२ हजार महिलाले प्रसूति सेवा लिएका छन् । अस्पतालमा स्त्रीरोगसम्बन्धी बहिरङ्ग सेवा, प्रसूति, परिवार नियोजन तथा सुरक्षित गर्भपतन, आमा सुरक्षा तथा नवजात शिशु निःशुल्क उपचार, कृत्रिम गर्भधारण जस्ता सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
विसं २०१६ भदौ १० गते श्रीकृष्णजन्माष्टमीको दिन ४० शय्याबाट शुरु भएको उक्त अस्पतालमा अहिले ४८९ शय्या रहेका छन् । अस्पतालले कोभिड–१९ सङ्क्रमित महिलाको उपचार कुपण्डोलस्थित प्रसूतिकै भवनबाट सेवा दिइरहेको छ । अस्पतालमा दैनिक ५० देखि ७० जनाको प्रसूति र एक हजार जनाले बहिरङ्ग सेवा लिने गरेका छन् ।