गण्डकीका मन्त्रीको सम्पत्ति: मुख्यमन्त्रीको २५ लाख ऋण, सञ्चारमन्त्री थापाको ९० तोला सुन

पोखरा । गण्डकी प्रदेशका मन्त्रीहरुले सम्पत्ती विवरण सार्वजनिक गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयको आधिकारिक वेवसाइट मार्फत सम्पत्ति विवरण सार्वजनिक गरिएको हो ।

११ जना मन्त्री मध्य खेलकुदमन्त्री दीपक मनाङे र कृषिमन्त्री चन्द्रबहादुर बुढाले सम्पत्ति विवरण बुझाएका छैनन् ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले २५ लाख ऋण देखाएका छन् । उनले आम्दानीको रुपमा तलबबाट जम्मा भएको पाँच लाख नगद देखाएका छन् ।

मुख्यमन्त्री नेपालीले ५ तोला सुन , श्रीमतिको नाममा २० लाख बराबरको घर रहेको सम्पत्ती विवरणमा उल्लेख गरेका छन् । यस्तै आफ्नो नाममा काठमाडौं र तनहुँमा जग्गा रहेको सम्पत्ती विवरणमा उल्लेख गरेका छन् ।

यस्तै शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले एक किलो १९ तोला सुन रहेको सम्पत्ती विवरण बुझाएका छन् ।पैतृक सम्पत्ती स्रोत देखाउँदै मन्त्री श्रेष्ठले १५ लाख नगद तथा सात किलो दुई तोला चाँदी र एकथान हीराको औँठी रहेको सम्पत्ती विवरणमा उल्लेख गरेका छन् ।

अर्थमन्त्री रामजी बरालले एनआइसि एसिया बैंकबाट एक करोड ऋण लिएको देखाएका छन् । भने ६० हजार रुपैयाँको गाई, निफ्राको ६० कित्ता सेयर, बैंकमा तीन लाख नगद मौज्दात रहेको आम्दानी उनले देखाएका छन् । यस्तै दुई छोरा र बुहारीको नाममा दुई मोटरसाइकल तथा एक स्कुटर रहेको उनले उल्लेख गरेका छन ।

कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले ९० तोला सुन पोखरामा ६ ठाउँमा घर, आठ ठाउँमा जग्गा रहेको सम्पत्ती विवरण बुझाएका छन् ।

उनले घरमा नगद ५५ हजार रुपैयाँ,५० तोला चाँदी, १५ तोला हीरा रहेको उल्लेख गरेका छन् । यस्तै बैंक तथा वित्तीय संस्थामा झन्डै १० करोड नगद मौज्दात र परिवारसमेतको सात लाख ५० हजार कित्ता सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । व्यापारी पृष्ठभुमिका मन्त्री थापाले दुईवटा गाडी, पाँच वित्तीय संस्थामा ऋण तथा होटेल, मल, रिसोर्टलगायतमा लगानी रहेको उल्लेख गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण हेर्न यहाँ क्लिक गर्नुहोला

कमेन्टहरु
Loading...