बाघको संरक्षण गर्नु मानव कर्तव्य र दायित्वः मन्त्री थापा

गन्थन संवाददाता । बाघको संरक्षण गर्नु मानवको कर्तब्य र दायित्व दुवै भएको वन, वातावरण तथा भु–संरक्षण गण्डकीका मन्त्री दिपक थापाले बताएका छन् । आज जुलाइ २९ विश्व बाघ दिवसका अवसरमा मन्त्री थापाले एक संदेश जारी गर्दै यस्तो बताएका हुन् ।

मन्त्री थापाले संदेशमा भनेका छन्– ‘बाघको संरक्षण गर्नु मानव मात्रको कर्तव्य र दायित्त्व दुवै हो । बाघ संरक्षण कार्यमा स्थानीय समुदायको ठूलो भूमिका रहेको छ । तर स्थानीय समुदाय बाघबाट पिडित पनि भएका छन् । बाघले गर्दा धेरै मानिसले जीवन गुमाएका छन् भने कतिपय मानिस घाइते पनि भएका छन् । त्यसै गरी बाघको कारण स्थानीय समुदायका पशुधनको समेत क्षति भएको अवस्था छ । बाघबाट पिडित समुदायलाई उचित राहात दिने कुरामा गण्डकी प्रदेश सरकार प्रतिवद्ध रहेको व्यहोरा म स्मरण गर्न चाहन्छु ।’

बाघको चोरी शिकारी रोक्नुपर्ने भन्दै उनले भनेका छन्– ‘बाघ संरक्षण गर्न बाघको चोरीशिकार तथा अवैध व्यापार रोक्नुपर्ने, मानव र बाघ बीचको द्वन्द्व घटाउनुपर्न र बाघको बासस्थानमा सुधार गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा बाघले आफ्नो आहारा र पिउने पानी प्रयाप्त नपाउदा जंगलबाट बाहिर आई मानव बस्तिमा प्रवेश गरी ठूलो मात्रामा जीउधनको नोक्सान पनि गरेको पाइन्छ । मानवजाति तथा अन्य जाति एवम् पारिस्थतिकीय प्रणालीलाई जोगाइ राख्न बाघको महत्वपूर्ण भूमिका रहने गर्दछ । साथै बाघको बासस्थान क्षेत्रलाई पर्यापर्यटनको रुपमा विकास गरी स्थानीय समुदायको रोजगारी सिर्जना गर्न पनि बाघ संरक्षण गर्नु अपरिहार्य छ । बाघ संरक्षण गर्नमा स्थानीय समुदायको ठूलो भूमिका रहने गर्दछ । तसर्थ, बाघ संरक्षण गर्नका लागि सम्पूर्ण प्रदेशबासीमा म हार्दिक आव्हान गर्दछु ।’
हाल नेपालमा करिव २३५ वटा बाघ पाइने अनुमान छ ।

 

कमेन्टहरु
Loading...