तनहुँ संवादाता । निषेधाज्ञाका कारण भएको बन्दाबन्दीले गर्दा ब्यास नगरपालिका– १३ का कृषक इश्वर पन्थले पालेको हाँस बिक्रि हुन सकेको छैन ।
खान योग्य भएपनि बिक्रि नहुँदा उनको फार्ममा अहिले आठ हजार हाँस छन् । बजार बन्दका कारण हाँस बिक्रि नभएको उनले बताए । हाँस बिक्रि गर्ने बेला भएको थियो ।
‘चितवनको व्यवसायीसँग कुरा पनि भयो । उनीहरुले हाँस लैजाने तयारी पनि गरेका थिए तर कोभिडको संक्रमण बढेपछि जताततै अकस्मात निषेधाज्ञा लाग्यो । जसले गर्दा हाँस बिक्रि हुन सकेन,’ उनले भने ।
सुरुमा बुटवलबाट दश हजार हाँसका चल्ला ल्याई पाल्न सुरु गरेका उनले हाँस पनि राम्रै भएको थियो । तर बन्दाबन्दीले गर्दा उनी समस्यामा परे । दश हजार हाँसका चल्ला ल्याएर फार्ममा पालिएको भएपनि अहिले आठ हजार हाँस उनको फार्ममै छन् । हाँसलााई दैनिक एक लाख रुपैयाँ भन्दा बढीको दाना खुवाउदै आएका पन्थले अहिले घटाएर चालिस हजार बराबरको मात्रै खुवाउन थालेका छन् ।
‘हाँसको वजन बढ्ने जति बढिसक्यो । अव धेरै दाना खुवाएर पनि फाइदा छैन । पर्याप्त दाना खुवाएपनि हाँस खासै नबढ्ने हुँदा दाना नै कम खुवाउन थालिएको छ’ हाँस बिक्रि भएपो पैसा पनि हुन्छ अहिले पैसा पनि छैन त्यसैले दानामा पनि कटौती गर्दै आएका छौ’ उनले भने ।
सामाजिक संजाल फेसबुकमार्फत बिज्ञापन
पन्थले हाँसको बिक्रि बढाउन सकिन्छकी भनेर अफर पनि दिएका छन् । फार्ममै आएर छानीछानी एक हजार रुपैयाँमा प्रति गोटा हाँस लैजानुहोस् । भनेर सामाजिक संजाल फेसबुकमा राखेका छन् । तर पनि मानिसहरु हाँस खरिद गर्न आएका छैनन् ।
अरु बेला प्रतिकिलो पन्ध्र सय रुपैयाँमा बिक्रि गरिदै आएको हाँस यतिखेर एक हजार रुपैयाँमा दिँदा पनि बिक्रि नभएको उनले गुनासो गरे ।
‘बजार बन्द हुँदा समस्यामा परियो,’ उनले भने । असी लाख रुपैयाँबराबरको हाँस अहिले फार्ममै रहेको उनले बताए । ०६९ मा श्री युगिन कृषि फार्म दर्ता गरी संचालनमा ल्याइएको उक्त फार्ममा यतिखेर हाँसको बथानै छ ।
निषेधाज्ञाका कारण भएको बन्दाबन्दीले गर्दा खाने बेला भैसकेको हाँस बिक्रि नहुँदा पन्थ चिन्तित बनेका हुन् ।