पोखरा । अग्रपंक्तिमा खटिने र विपन्न नागरिकलाई निशुल्क आयुर्वेद औषधी वितरण अभियान सञ्चालन गरिरहेको नेपाल आयुर्वेद औषधि व्यवसायी संघ गण्डकी प्रदेशले मंगलबार पर्वत, म्याग्दी र बागलुङका स्थानीय तहमा आयुर्वेद औषधि वितरण गरेको छ ।
पर्वतको मोदी गाउँपालिका र कुश्मा नगरपालिकामा अभियान अन्तर्गत कोरोना संक्रमितको रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने गुण भएका औषधि वितरण गरियो ।
म्याग्दीको बेनी नगरपालिका, जिल्ला प्रहरी कार्यालय म्याग्दी, कारागार, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा आवश्यक मात्राको उक्त औषधि हस्तान्तरण गरिएको स्वयंसेवक उपसमिति संयोजक कृष्ण राउतले जानकारी दिए । बागलुङको बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेललाई प्रत्यक्ष भेट गरी औषधि हस्तान्तरण गरिएको राउतले बताए ।
मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले गाउँपालिकाको राम्जामा आयुर्वेद अस्पताल बन्दै गरेको जानकारी दिए । उक्त अस्पताल बहुवर्षीय आयोजना अन्तर्गत चार करोडको लागतमा बन्न लागेको उनले बताए । गाउँपालिकामा ७० प्रतिशत जंगलको भूभाग भएकाले रहेका जडिबुटीहरुको पहिचान गरी प्राकृतिक चिकित्सा पद्दतिलाई उकास्न अध्ययन भइरहेको अध्यक्ष पौडेलले बताए ।
‘रसायनिक मेडिकल औषधिमा मात्र हाम्रो विश्वास छ । अब हाम्रै वरिपरि रहेका आयुर्वेद जडिबुटी औषधिको पहिचान गरी प्रवद्र्धन गर्छौं,’ उनले भने । आयुर्वेद व्यवसायीले गरेको सहयोगप्रति तारिफ गर्दै अध्यक्षले गाउँपालिकाले भावि दिनमा सहकार्य गर्न तयार रहेको बताए ।
कुश्मा नगरपालिकाका उपमेयर सीताकुमारी काफ्ले लामिछानेले परम्परागत आयुर्वेद चिकित्सा पद्दति अत्यन्तै उपयोगी हुने बताइन् । कोरोनाले अझ यसको महत्वबारे जनमानसमा बुझाएकाले पनि नगरपालिकाले आयुर्वेद चिकित्सालयको आवश्यकता महशुस गरेको उनले सुनाइन् ।
बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले नगरभित्रका संक्रमितलाई एलोपेथिक उपचार मात्र गराइरहेकोले आवश्यकताअनुसार अब आयुर्वेद चिकित्सा पद्दतिलाई पनि अवलम्बन गरिने बताए ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख तथा डिएसपी श्यामकुमार राईले आयुर्वेद व्यवसायीको सहयोगप्रति आभार जनाए । नागरिकको सुरक्षामा खटिने प्रहरीको स्वास्थ्यलाई मध्यनजर गर्दै उपलब्ध गराएको आयुर्वेद औषधिको प्रयोग सही तवरबाट गरिने उनले जनाए । संकटमा नागरिकले नागरिकप्रतिको दायित्व निर्वाह गर्ने काममा संघले आफूलाई प्रमाणित गरेको उनको भनाई थियो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका आयुर्वेद डा सन्देश अधिकारीले आयुर्वेद औषधि मात्रा मिलाएर सेवन गर्नुपर्ने बताए । चिकित्सको परामर्शअनुसार नै आयुर्वेद औषधिको सेवन गरेमा शरीरमा इम्युन बढाउन मद्दत पुग्ने उनले बताए । केन्द्रले जिल्लाका संक्रमितलाई आवश्यक आयुर्वेद औषधि वितरण पनि गरिरहेको उनले जानकारी दिए ।
संघका अध्यक्ष राजुकुमार पौडेलले प्रदेशभर संक्रमितहरुलाई छिटो भन्दा छिटो निको बनाउन अभियानले सार्थकता पाइरहेको दाबी गरे । आयुर्वेद औषधिको उपयोगले गर्दा कोरोना महामारी विरुद्ध लड्न सक्ने शरीरमा क्षमता वृद्धि गर्न मद्दत गरेको उनको भनाई थियो । त्यसैकारण संघले उत्तरदायित्व निर्वाह गर्दै निशुल्क आयुर्वेद औषधि वितरण अभिान सञ्चालन गरेको बताए ।
गुड्ची चूर्ण, यष्टीमधु चूर्ण, त्रिकटु चूर्णलाई मिश्रण गरी खल विधिबाट तयार गरिएको आयुर्वेद औषधिले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत पुग्ने संघका सचिव डा दीपक भुसालले बताए । आयुर्वेद औषधिको प्रयोगपछि संक्रमणमुक्त व्यक्तिहरुको अनुभव र प्रभावकारिता अनुसार आयुर्वेद चिकित्सा पद्दतिको अनिवार्यता अझ बढेको उनले बताए । संघले होम आइसोलेसनमा बसेकाहरुलाई मनोपरामर्श सेवा सञ्चालन गरिरहेको डा भुसालले जानकारी दिए ।
वितरित आयुर्वेद औषधि क्वाथ (पकाएर) वा मनतातो पानीमा घोलेर सेवन गर्न सकिने आयुर्वेद डा प्रफुल्लचन्द्र यावदले बताए । रोगप्रतिरोधी क्षमता वृद्धि गर्न आयुर्वेद औषधि उपभोग गर्न उनको सुझाव छ ।
अभियानअन्तर्गत टोलीमा कोषाध्यक्ष रमेश चापागाई, सहसचिव लक्ष्मी शर्मा चापागाई र सदस्य राजेन्द्र अधिकारी संस्थापक केन्द्रीय सदस्य रमानाथा सापकोटा सहभागी भए । पर्वतमा प्रकाशचन्द्र सुवेदी, बेनीमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कार्यलय प्रमुख प्रेम प्रसाद गौतम र बागलुङमा हरि पौडेलले अभियानका लागि सहजीकरण गरेका थिए भने आयुर्वेद व्यवसायीको सहभागीता समेत थियो ।
संघले सञ्चालन उक्त अभियानमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज गण्डकीको एक्येबद्धता रहेको स्वयंसेवक संयोजक कृष्ण राउतले बताए ।