पोखरा । नेकपा माओवादी केन्द्र सांसद दिपक कोइरालाले गण्डकी प्रदेश सरकारको मन्त्रालय बाँडफाँडमा कांग्रेसले जसपा र माओवादी भिडाउन खोजेको आरोप लगाएका छन् ।
गन्थन न्युजसंग कुराकानी गर्दै नेता कोइरालाले माओवादीलाई आर्थिक मामिला दिएर जसपासंग भिडाउन कांग्रेस लागेको बताए ।
उनले जसपालाई नै आर्थिक तथा योजना मन्त्रालय दिइनुपर्नेमा माओवादी स्पष्ट रहेको बताए ।
कांग्रेससंग पूर्व सहमति अनुसार भौतिक पूर्वाधार सहितका चार मन्त्रालय माओवादीलाई नदिए सरकारमा नजाने उनको भनाइ छ ।
जसपालाई दिने भनि सहमती भएको आर्थिक मामिला माओवादीलाई दिएर भिडाउने र माओवादीलाई अन्य कमजोर मन्त्रालय दिने योजनामा कांग्रेस रहेको माओवादीको बुझाइ छ ।
केही समय अगाडी माओवादीलाई आर्थिक मामिला दिने र कांग्रेसले भौतिक पूर्वाधार लिने बारे लगभग सहमती जुटेपछि माओवादीले आन्तरिक बैठक राखेको थियो । बैठकमा मन्त्रालय कुन लिने भन्ने बारेमा सहमती जुट्न सकेको छैन ।
माओवादीबाट आर्थिक मामिला मन्त्रालयमा हरि बहादुर चुमान र रामजी बराल जीवनको चर्चा थियो । सांसद कोइराला पनि मन्त्रीको दौडमा रहेका छन् ।