गन्थन डेस्क । राष्ट्रिय जनमोर्चाकी सचेतक गण्डकी प्रदेश सांसद पियारी थापाले अहिलेको सरकारलाई जनमोर्चाले गुण र दोषको आधारमा समर्थन गर्ने बताएकी छिन् ।
गण्डकी प्रदेश सभामा आज कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा विश्वासको मतको प्रस्तावमाथीको छलफलमा सांसद थापाले आफ्नो पार्टीको धारणा राखेकी हुन् ।
अहिलेको सरकारलाई मुख्य ४ वटा गहन जिम्मेवारी रहेको उनले बताइन् । यो सरकारले प्रदेशका सम्पूर्ण जनतालाई कोभिड खोपको व्यवस्था, बाढी पहिरोमा परेकालाई राहत, विस्थापितलाई पुनर्उत्थान, कोरोनाका कारण रोजगारी गुमाएकालाई रोजगार योजना निर्माण, लोकतन्त्र विधि पद्धतीको विषयमा संघ सरकारको पहरेदारकोरुपमा रहनुपर्ने उनको भनाई छ ।
जेठ २९ मा मुख्यमन्त्री नियुक्त भएका पोखरेलले १ महिनाभित्र विश्वासको मत लिनैपर्ने प्रावधान अनुसार आज मत मागेका हुन् । पुर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार गठनको प्रक्रिया अघि बढेको थियो । कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनमा पोखरेल मुख्यमन्त्री बनेका हुन् ।
प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न ३० सांसदको साथ चाहिन्छ । जनमोर्चा सांसद कृष्ण थापाको पद सर्वोच्चले खारेज गरिदिएपछी सभामा सांसद कायम संख्या ५९ छ ।
मुख्यमन्त्रीलाई कांग्रेसका १५, माओवादीका ११ (सभामुख बाहेक), जनमोर्चा र जसपाका २/२ तथा स्वतन्त्र सांसद दिपक मनाङेको साथ छ ।