लास बेवारिसे हुने भएपछि परिवर्तन नेपालको सहयोग

राजु गिरी, पोखरा ।

नेपालमा कोरोना संक्रमण दर घट्दो क्रममा छ । तर कोरोनाले ल्याएका विभिन्न समस्यासँग जुध्नै पर्ने बाध्यता हामीमाझ रहेको छ । अझ विपन्न परिवारलाई त यसले ठुलो समस्यामा पारेको छ ।

यस्तै ठुलो समस्या आज पोखरा–८ नागढुङ्गामा बस्दै आएकी स्याङ्जाकी सन्तोषी तामाङको परिवारमा परेको छ । टिनको टहरोमा भाडामा बस्दै आएकी तामाङको अचानक बिहान मृत्यु हुन्छ । यहाँ कोही आफन्त नभएकाले उनको लास बेवारिस अवस्थामा रहने हो कि भनेर वरिवरिका छिमेकीले सहयोगको आशय सहित परिवर्तन नेपाल संस्थालाई फोन गर्छन् ।

मृतक तामाङको एक भाई, अन्दाजी ८,९ वर्षको छोरा र सानो छोरी भएको पनि फोन मार्फत छिमेकीले जानकारी गराउँछन् । कोभिडको यो महामारीमा निशुल्क स्वाब संकलन र अति विपन्नलाई खाद्यान्न वितरण गर्दै आएको परिवर्तन नेपाललाई लास व्यवस्थापन र खाद्यान्न सहयोगको अपेक्षासहित आएको फोनलाई तत्कालै कार्यान्वयन गर्नतर्फ लाग्छ ।

केही समयमा नै लास व्यवस्थापनको चाजोपाजो गरेर नगद र खाद्यान्न सहयोग गरिएको संस्थाका सहसचिव अभिमन्यु पाण्डे बताउँछन् । उनका अनुसार नगद ११ हजारका साथमा मृतकका भाइ तथा छोराछोरीलाई तत्कालका लागि १५ केजी चामल, तेल, नुन, दाल, चिनीलगाएतको खाद्यान्न सहयोग गरिएको छ । साथै मृतकका छोराछोरीलाई पढाउन समस्या भएमा परिवर्तन नेपालले सघाउने प्रतिवद्धता व्यक्त गरिएको पाण्डे बताउँछन् ।

कमेन्टहरु
Loading...