- सौगात पोखरेल
पोखरामा कोरोना खोपका लागि राजनीतिक दलका नेता कार्यकर्ताले दबाव सिर्जना गर्दै आएका छन् । राजनीतिक दवाबका कारण पोखरामा लक्षित उमेर समुहका सबै नागरिकहरुले खोप लगाउन नपाउने निश्चित भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख डा. बाबुराम आचार्यका अनुसार कास्कीमा १६ हजार खोप डोज आएको छ । यो खोप डोजले करिव ८ हजार जनतालाई मात्र खोप लगाउन सकिन्छ । अहिले सरकारले तोकेको उमेर मापदण्डअनुसार कास्कीमा १० हजारको संख्यामा खोप लगाउनुपर्ने आवश्यकता छ । तर यो बेला १० हजार जनताले नै खोप लगाउन पाउने अवस्था भने छैन ।
बिभिन्न राजनीतिक दलका नेता कार्यकर्ता देखि व्यपारी व्यबसायीले पहुँचका आधारमा सेटीङ्ग मिलाएर खोप लगाउन थालेको कारण उक्त उमेर समुहका सबैले खोप लगाउन पाउने अवस्था छैन । कोरोना खोपको बिषयलाई लिएर नेकपा(एमाले) कास्कीका युवा नेता दिलिप न्यौपानैले कोरोना खोप वितरणमा अनियमितता भएको भन्दै सामाजिक संजालमा प्रश्न उठाएका छन् । न्यौपानीले पहुँचका आधारमा पार्टीका कार्यकर्ता र व्यापारीहरुले कोरोना खोप लगाएको र जनताको स्वास्थ्यमाथी गम्भिर खेलवाड गरेको बताएका छन् । उनले कोरोना खोप बितरण प्रभावकारी बितरण भएको छ कि छैन भनेर अनुगमन गरिदिनका लागि सरोकारवाला सबैसँग आग्रह गरेका छन् ।
हामीले जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. बाबुराम आचार्यलाई यसबारे बुझ्न खोज्दा उनले खोप स्थानिय तहसम्म पु¥याउँदा फेरि केहि अनिमितता भएको हुनसक्ने अनुमान लगाए । आचार्यले पनि संचारमाध्याम लगायतका सबैले खोप बितरणबारे निगरानी गर्नुपर्ने बताए । उनलाई हामीले खोपमा राजनीतिक दबाब सिर्जना भएको हो र भन्ने प्रश्न गर्दा उनले भने,–‘यस्तो कुरा मैले ठ्याक्कै भन्न मिल्दैन यहाँको अवस्था कस्तो छ हजुरहरुले बुझिहाल्नु हुन्छ नि ?’
आचार्यले घुमाउरो पारामा खोपका लागि राजनीतिक हस्तक्षेप भएको स्विकार गर्दै अनुगमनका लागि सबै सरोकारवालासँग अनुरोध पनि गरे । स्थानिय तहसम्म खोप पुगेपछि राजनीतिको आधारमा खोप लगाउने र नलगाउने निर्णय हुनसक्छ । कोरोना संक्रमणको समयमा पनि खोपमा राजनीति गर्न खोज्ने दलका नेता कार्यकर्ता र व्यापारीका कारण सबैले खोप नपाउन सक्छन । जेठ २७ बाट कास्की भर ६२ देखि ६४ उमेर समुहका लागि खोप लगाउने कार्यक्रम रहेको छ । त्यो खोपलाई लक्षित बर्ग र उमेर समुहसँग पु¥याउनका लागि सबैको खवरदारी जरुरी छ ।