पोखरा । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले पदभार ग्रहणपछि दिएको अभिव्यक्ति बारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रदेश अधयक्ष शंकर बरालले विज्ञप्ती जारी गर्दै प्रदेश प्रमुखले सार्वजनिक रुपमा गण्डकी प्रदेश सभाका सभामुख नेत्रप्रसाद अधिकारीको राजीनामाको माग गर्नु र गण्डकी प्रदेश सभामा विचाराधीन रहेको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकारका विरुद्धको अविश्वासको प्रस्ताव निष्क्रिय भएको भनि दिएको अभिव्यक्ती संवैधानिक व्यबस्थाका विरुद्ध रहेको बताएका छन् ।
‘प्रदेश प्रमुखले राष्ट्रपतिको प्रतिनिधिका रुपमा संविधानको रक्षा तथा कार्यान्वयनका लागि तटस्त भूमिका खेल्नुपर्ने हुन्छ । त्यही अनुरुपको कल्पना नेपालको संविधान २०७२ ले गरेको छ । तर त्यो संवैधानिक व्यवस्थालाई उल्लंघन गरेर एउटा पार्टीको नेता कार्यकर्ता जस्तै सभामुखको राजीनामा माग्नु तथा संसदमा विचाराधीन अविश्वासको प्रस्ताव निष्क्रिय भएको टिप्पणी गर्नु असोभनीय र खेदजनक छ ।’, विज्ञप्तीमा भनिएको छ ।
‘सरकारको मतियारका रुपमा रहेको पृथ्वीसुब्बा गुरुङको सरकारका विरुद्ध आएको अविश्वासको प्रस्तावलाई विफल पार्न ओली तथा स्वयं राष्ट्रपति समेत लागि रहेको हुनाले पृथ्वीसुब्बा गुरुङको सरकारलाई अविश्वासको प्रस्तावद्वारा हटाउनुपर्ने आवश्यकता झन् बढेर गएको छ ।’, बरालद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।