काठमाडौं । काठमाडौंको वीर अस्पतालको नयाँ भवनलाई कोरोना भाइरस संक्रमणका बिरामीमात्र उपचार गर्ने गरी तयार पार्न काम अगाडि बढाइएको छ । अस्पतालको नयाँ सर्जिकल ब्लकमा कोरोना भाइरसका बिरामीमात्र राख्ने गरेर का अगाडि बढाइएको अस्पतालका कोभिड संयोजक डा.अच्युतराज कार्कीले जानकारी दिएका छन् ।
हाल नयाँ भवनको निर्माण कार्य जारी छ । निर्माण कार्य जारी रहेकाले कोभिडका बिरामीमात्र उपचार गर्न मिल्ने गरेर भवनको थप निर्माण कार्य कसरी अगाडि बढाउने भन्ने विषयमा ठेकेदारसंग कुराकानी भइरहेको डा.काकीले बताएका छन् ।
सकेसम्म नयाँ भवन छिटो सम्पन्ने गर्ने आफूहरुको योजना रहेको उनको भनाई छ । डा.कार्कीका अनुसार नयाँ भजनमा कम्तीमा पनि २ सय बेड सञ्चालन गरिने छ । कोरोना महामारीलाई मध्यनजर गर्दै बेडको संख्यालाई बढाएर ३ सयसम्म बनाउन सकिने उनले बताएका छन् ।
कोरोना भाइरस संक्रमणको बिरामीलाई मात्र राखेर उपचार सुचारु गराउन हाल वीर अस्पतालको नयाँ भवनमा स्टाफ नर्स तथा सफाई कर्मचारीको अभाव भएको उनले बताए । आफूहरुलाई चिकित्सकको भने कुनै कमी नभएको उनको भनाई छ ।
ठेकेदारबाट स्वीकृत भए पश्चात् उक्त भवनमा उपचारको सेवा सुचारु गर्न कुनै समय नलाग्ने समेत डा.कार्कीले बताएका छन् । उनका अनुसार अस्पतालको नयाँ भवनमा अब आइसियु तथा भेन्टिलेटरमात्र जडान गर्नुपर्ने काम बाँकी छ । हाल वीर अस्पतालले आफ्नो पुरानै भवनमा राखेर कोरोनाका बिरामीको उपचार गराइरहेको छ । उक्त अस्पतालमा अहिले ४१ जना संक्रमित उपचाररत छन् ।