भरतपोखरी साना किसानको प्रथम वार्षिक साधारणसभा

पोखरा, ८ माघ/कास्कीको भरतपोखरी गाविसस्थित भरतपोखरी साना किसानको प्रथम वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । प्रमुख अतिथि कृषि विकास बैंक क्षेत्रीय कार्यालय पोखराका क्षेत्रीय निर्देशक एकबहादुर बस्नेतले संस्थाले छोटो समयभित्रै भरतपोखरीका साना किसानहरुलाई एकीकृत गरेको कार्यको प्रशंसा गर्दै आप्mनो तर्फबाट संस्थालाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।कार्यक्रममा इलाका संघ अध्यक्ष एवं साना किसान कृषि सहकारी संस्था लि. फेदीखोलाका अध्यक्ष नेत्रबहादुर कार्की, साना किसान विकास बैंक लि. इलाका कार्यालय पोखराका वरिष्ठ सहायक विदुर अर्याल, साना किसान कृषि सहकारी संस्था लि. सराङकोटका अध्यक्ष भोजकुमारी थापा, दुग्ध संकलन केन्द्रका अध्यक्ष रविप्रसाद अधिकारी, एमाले गाउँ कमिटी सचिव सतिस लामिछाने, नेपाली काँग्रेस गाउँ कमिटी भरतपोखरीका सभापति चन्द्रबहादुर पुन, लेखा संयोजक केशवराज लम्साल, मिलनसार सामाजिक उद्यमी महिला सहकारी संस्था लि.का प्रतिनिधि कर्णकुमारी महत, सल्लाहकार यज्ञप्रसाद अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा सबैभन्दा बढी शेयर खरिद गर्ने सूचना परियार, सबैभन्दा बढी मासिक बचत गर्ने ८८ जनालाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष रामजीप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष बसन्धुरा अधिकारी र संस्थाका कार्यालय सचिव रेखा अधिकारीले गरेकी थिइन् ।

संस्थामा भरतपोखरीका छ सय ६५ जना कृषक आबद्ध छन् । संस्थाको शेयर पुँजी २८ लाख रुपैयाँ रहेको छ । संस्थाले आगामी दिनमा मल खरिद गरी कृषकलाई सहुलियत दरमा मल उपलब्ध गराउने, पशु विमा, बाली बिमा र कृषिसम्बन्धी तालिम र सचेतना कार्यक्रम गर्ने जनाइएको छ ।

कमेन्टहरु
Loading...