सप्तरी । सप्तरीमा ११ वटा निजी विद्यालयका सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सरकारले मुलुकभरीका विद्यालय बन्द गर्ने निर्णय गरेको भए पनि अटेर गर्दै विद्यालय सञ्चालनमा ल्याएपछि आज बिहान जिल्लाको ११ वटा विद्यालयका सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
कोरोना भाइरस संक्रमणको महामारी तीव्र गतिमा फैलिंदै गएपछि रोकथामका लागि भन्दै सरकारले वैशाख मसान्तसम्म जिल्ला सदरमुकाम राजविराजका विद्यालय बन्द गर्न दिर्नेशन दिएको थियो । तर सरकारको निर्देशनलाई अवज्ञा गर्दै विद्यालय धमाधम सञ्चालन गरेपछि ११ वटा विद्यालयका सञ्चालकलाई नियन्त्रणमा लिइएको जिल्लाका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले जानकारी दिएका छन् ।
पोखरेलका अनुसार कोरोनाको महामारीलाई मध्यनजर गर्दै उनीहरुलाई विद्यालय सञ्चालन नगर्न पटक–पटक सम्झाइएको थियो । तर उनीहरुले नमानेपछि बाध्य भएर नियन्त्रणमा लिइएको उनले जानकारी दिएका छन् ।
आज बिहान विभिन्न सुरक्षा अधिकारीसहित प्रमुख जिल्ला अधिकारी, राजविराज नगरपालिकाका प्रमुख लगायतको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । हाल नियन्त्रणमा लिइएको सबैलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको बताइएको छ ।