म्याग्दी । बालमखोला सिंचाई आयोजना निर्माण भएपछि म्याग्दीको बेनी नगरपालिका–४ बास्कुना, सुर्केमेला र थामडाँडाका बासिन्दाको २ दशकदेखिको सपना पूरा भएको छ । खानेपानी, सिंचाई तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दीले बेनी नगरपालिका–३ मा पर्ने बालमखोलाको मुहानबाट पानी ल्याएर तीनवटा बस्तीको जमिनमा सिंचाई गर्न आयोजना निर्माण गरेको हो । आर्थिक वर्ष २०७५/७६ मा ठेक्का सम्झौता भएको सिंचाई आयोजना यसै आर्थिक वर्षमा निर्माण सकेर पानी चलाइएको आयोजनाको उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर गुरुङले बताएका छन् । उनले सय घरधुरी कृषकको १ हजार २ रोपनी जमिनमा सिंचाई सुविधा पुगेको जानकारी दिएका छन् ।
‘विसं २०५७/५८ मा बालमखोलाबाट डेढ इन्चको पाइपमा पानी आएको थियो । त्यो पानीले हामीलाई पुगेन । मुहानमा पानी खेर गइरहँदा यहाँ हाहाकार थियो ।’ उनले भने, ‘त्यहीबेला ५ इन्चको पाइपमा पानी ल्याउने सपना देखेका थियौं, अहिले २० वर्षपछि पूरा भएको छ ।’
विसं २०५८ मा परिकल्पना गरिएको बालमखोला सिंचाई आयोजना विसं २०६४ मा राष्ट्रिय योजना आयोगको रातो किताबमा समावेश भए पनि २०७५ मा प्रदेश सरकारले कार्यान्वयन सुरु गरेको थियो । व्यावसायिकरूपमा तरकारी, खाद्यान्न र सुन्तला खेती गरेका कृषक सिंचाई अभावमा समस्यामा परेका थिए । नियमितरूपमा सिंचाई सुविधा भएपछि खेतीबाली लगाउन सहज हुनुका साथै उत्पादन वृद्धिमा सहयोग पुग्ने बास्कुनाका कृषक भबिलाल काउचाले बताए । ‘पानी नहुँदा खेतबारी बाँझै राख्नुपर्ने समस्या थियो ।’ उनले भने, ‘सिंचाई सुविधा हुन थालेपछि आयआर्जन बढाउन खाद्यबालीको विकल्पमा व्यावसायिक सुन्तला खेती गरेका छौं ।’
बास्कुनाको पूरै गाउँमा सुन्तला खेती भएको छ । २० हजारभन्दा बढी सुन्तलाका बिरुवा रोपिएको अगुवा कृषक तिलक गुरुङले बताएका छन् । १ करोड ६० लाख लागत अनुमान गरिएको बालमखोला सिंचाई आयोजना झिँ निर्माण सेवाले १ करोड २७ लाखमा ठेक्का लिएको थियो । ३३ प्रतिशत घटेर ठेक्का लिएको कम्पनीले सम्झौताभन्दा १५ प्रतिशत कम करिब १ करोड ७ लाख मात्र भुक्तानी लगेको खानेपानी, सिंचाई तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दीका प्रमुख कुमार खड्काले बताएका छन् ।
‘मुहान्, मुख्य र शाखा पाइपलाई, रिजर्भ ट्यांकी, भल्ब च्याम्बरलगायतका संरचना निर्माण सकिएपछि आयोजनाबाट पानी चलाइएको छ ।’ उनले भने, ‘बास्कुना, सुर्केमेला र थामडाँडाका बासिन्दालाई व्यावसायिक कृषि पेशाबाट आयआर्जन र जीवनस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरेका छौं ।’ बालमखोलाबाट थामडाँडामा निर्माण भएको १ लाख लिटर क्षमताको रिजर्भ ट्यांकीमा प्रतिमिनेट ५० लिटरका दरले पानी आपूर्ति गराइएको छ । नौ किलोमिटर वितरण लाइनको पाइपमार्फत् कृषकको खेतबारीमा सिंचाई गर्न मिल्ने गरी संरचना बनाएका छन् ।
बास्कुनामा तत्कालीन जिविस, गाविस र विभिन्न संघसंस्थाको सहयोगमा करिब ३० लाख खर्चेर बनाइएको डेढ लाख लिटर क्षमताको पोखरी पनि प्रयोगमा ल्याइएको छ । गण्डकी प्रदेशसभाको म्याग्दी क्षेत्र (क) का सांसद विनोद केसीले ओझेलमा परेको बालमखोला सिंचाई आयोजना प्रदेश सरकारमार्फत कार्यान्वयनमा पहल गरिएको बताएका छन् । रासस