एजेन्सी । भारतमा कोरोना भाइरसबाट अहिलेसम्म कुल संक्रमितको संख्या १ करोड ५० लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । सो मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार कोरोना सुरु भएयता भारतमा हालसम्म १ करोड ५० लाख ६१ हजार ९ सय १९ जना कोरोना संक्रमित भएका छन् । भारतमा कोरोना भाइरसबाट एकै दिनमा २ लाख ७३ हजार ८ सय १० संक्रमित भएका छन् । त्यसैगरी सोही अवधिमा भारतमा १ हजार ६ सय १९ जनाको कोरोनाका कारण मृत्यु भएको सोमबार जनाइएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाबाट कुल मृतकको संख्या १ लाख ७८ हजार ७ सय ६९ पुगेको देखिएको छ ।
भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या भने १९ लाख २९ हजार पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । पछिल्लो २४ घण्टामा १ लाख २८ हजार १३ जना कोरोनाबाट संक्रमणमुक्त भएको विवरण मन्त्रालयले सार्वजनिक गरेको छ । योसँगै अहिलेसम्म संक्रमणमुक्त भएकाको कुल संख्या १ करोड २९ लाख ५३ हजार ८ सय २१ पुगेको छ । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १२ करोड ३८ लाख व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।
भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी ३ प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायहरुले जनाएका छन् । रुसले विकास गरेको स्पुट्नीक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीहरुले जानकारी दिएका छन् । भारतमा आइतबार मात्रै १३ लाख ५६ हजार १ सय ३३ जनाको कोरोना परिक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ ।
अप्रिल १९ सम्म कूल २६ करोड ७८ लाख भन्दा बढीले कोरोना परीक्षण गरिएको पनि परिषदले उल्लेख गरेको छ । भारतको राष्ट्रिय राजधानी दिल्ली सबैभन्दा धेरै कोरोना प्रभावित राज्यको रुपमा रहेको छ । दिल्लीमा आइतबार एकै दिनमा २५ हजार ५ सय जना कोरोना भाइरस संक्रमित भएका १ सय ६१ जनाको मृत्यु भएको छ । रासस