लमजुङ संवादाता। लमजुङका होमस्टे सञ्चालन भएका पर्यटकीय गाउँहरू आन्तरिक पर्यटकले भरिभराउ भएका छन् ।
उत्कृष्ट पर्यटकीय घलेगाउँ र गाउँशहरको काउलेपानी लगायतका गाउँहरूमा नयाँ वर्ष मनाउनेहरूको ओइरो लागेपछि होमस्टे भरिभराउ हो ।
नयाँ वर्षको आगमनसँगै आन्तरिक पर्यटकहरूको आगमन बढेपछि स्थानीय पर्यटन व्यवसायीलाई भ्याइ–नभ्याइ भएको छ ।
पर्यटकहरूको चाप बढ्दा आफूहरू निकै व्यस्त भएको काउलेपानी पर्यटन विकास समितिका अध्यक्ष देव गुरुङले बताए ।
कोराना महामारीका कारण लामो समयसम्म व्यवसाय थला परेपनि नयाँ वर्ष मनाउन आएका पाहुनाले होमस्टे भरिभराउ भएपछि राहत महसुस भएको अध्यक्ष गुरुङको भनाई छ ।
२०७७ साललाई बिदाइ गर्दै नयाँ वर्ष २०७८ लाई स्वागत गर्न पर्यटकीय गाउँहरूमा आन्तरिक पर्यटकको ओइरो लागेको स्थानीय पर्यटन व्यवसायीहरूले जानकारी दिएका छन् ।
पछिल्लो समय जिल्लाका पर्यटकीय गाउँहरूमा आन्तरिक पर्यटकहरूको आगमन बढ्न थालेपछि पर्यटन व्यवसायीहरू उत्साहित बनेका छन् ।
नयाँ वर्षका दिन घलेगाउँमा आयोजना गरिएको सांगीतिक कार्यक्रम र नयाँ वर्ष आएका पर्यटकको चाप बढेसँगै पाहुनाको स्वागत र व्यवस्थापनमा भ्याइ–नभ्याइ भएको हो ।
नयाँ वर्षका दिन बिदा भएकोले पारिवारिक तथा समूहगत रूपमा पर्यटकहरू गाउँ पुगेका हुन् ।
होमस्टे सञ्चालन गरिएका जिल्लाका काउलेपानी, घलेगाउँ, भुजुङ,राईनासकोट र सिउरुङ लगायतका पर्यटकीय गाउँहरूमा पनि नयाँ वर्षका बेला आन्तरिक पर्यटकहरूको आगमन बढेको हो ।