काठमाडौं । टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले अन्तरंग सेवा अन्तरगत आजबाट कोरोना भाइरस संक्रमितलाई मात्र सेवा दिने भएको छ । पछिल्लो समयमा कोरोना भाइरस संक्रमितको संख्या फेरी बढ्न थालेपछि अस्पतालको अन्तरंग सेवा अन्तरगत अबको समयमा कोरोनासंक्रमितको मात्र उपचार गर्ने अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले जानकारी दिएका छन् ।
अन्तरंग सेवालाई कोरोनामय बनाएर ननकोभिड सेवा बन्द गरिएको उनले बताएका छन् । अन्य सेवा बन्द भए पनि एचआइभी तथा एन्टी रेबिज भ्याक्सिनसहित साधारण ओपिडी सेवा यथावत् राखिएको उनको भनाई छ । डा.राजभण्डारीका अनुसार अस्पतालमा बिरामीलाई भर्ना लिइने छैन । हाल शुक्रराज अस्पतालमा २० जनाभन्दा बढी कोरोना भाइरस संक्रमित उपचाररत छन् ।
केही दिन यता संक्रमित उक्त अस्पतालमा भर्ना हुने क्रम फेरी बढ्न थालेको छ । डा.राजभण्डारीका अनुसार पछिल्लो समय कोरोनाको नयाँ रुप युके भेरियन्ट संक्रमण नेपालमा फैलिएपछि अस्पताल भर्ना हुने संक्रमितको संख्या बढेको हो । अघिल्लो पटकको कोरोना भाइरसभन्दा पनि यसको नयाँ रुप भेरियन्ट अझै खतरनाक हुने विज्ञ तथा स्वास्थ्यकर्मीले बताउँदै आएका छन् ।