म्यान्मारमा सुरक्षाकर्मीद्वारा ८० प्रदर्शनकारी मारिए

एजेन्सी । म्यान्मारमा शुक्रबार सुरक्षाकर्मीद्वारा कम्तीमा ८० प्रदर्शनकारी मारिएका छन् ।

देशको मध्यभागमा पर्ने बागोमा भएको घटनामा परी उनीहरुको ज्यान गएको समाचारमा जनाइएको छ । अनुगमनमा खटिएका अधिकारकर्मीहरुले सुरक्षाकर्मीको आक्रमणमा परी ८२ जनाको ज्यान गएको जानकारी दिएका छन् ।

मृतकको शव सेनाले लिएर गएकाले मृतकको संख्या अझ बढी हुन सक्ने पनि उनीहरुले बताएका छन् । प्रदर्शनकारी विरुद्ध सुरक्षाकर्मीले ठूला हतियार प्रयोग गरेको र केही हलचल हुनेबित्तिकै गोली प्रहार गरेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

म्यान्मारमा गत माघ १९ मा देशको शासनसत्ता आफ्नो हातमा लिएपछि सेनाको कारबाहीमा ६ सयभन्दा बढी मानिसको ज्यान गइसकेको छ । सत्तामा बसिरहन सेनाले दिनानुदिन हिंसाको सहायता लिएको देखिएको छ ।

सेनाले सत्ता हातमा लिएयता म्यानमारभरि विरोध प्रदर्शन हुँदै आएका छन् । हालै भएको निर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाउँदै सेनाले फेरि चुनाव गर्ने बाहनामा सत्ता कब्जा गरेको हो । चुनावका लागि भन्दै सेनाले देशमा १ वर्षका लागि संकटकाल घोषणा पनि गरेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षक र निर्वाचन अधिकारीहरुले भने निर्वाचन निश्पक्ष नै भएको दावी गरेका छन् । सेनाले नतिजा अस्विकार गरिरहेको बेला नयाँ संसदको बैठक बस्न लागेकै दिन सेनाले सत्ता कब्जा गरिएको घोषणा गर्दै नेतालाई थुनामा राखेको हो । सेनाको कदमको विश्वभरीबाट विरोध भइरहेको छ भने शान्तिपूर्ण लोकतान्त्रिक राजनीतिक निकासका लागि दबाब बढिरहेको छ । रासस

कमेन्टहरु
Loading...