पोखरा । नेपाल पत्रकार महासङ्घ लमजुङ शाखाको अध्यक्षमा परमेश्वर अधिकारी निर्वाचित भएका छन् । बुधबार भएको पत्रकार महासङ्घको निर्वाचनमा महासङ्घ लमजुङमा प्रेस युनियन र प्रेस सङ्गठन प्यानलका अधिकारी तीन मतले विजयी भएका हुन् ।
नवनिर्वाचित अध्यक्ष अधिकारीले २९ मत ल्याएका थिए भने प्रेस चौतारीबाट अध्यक्षका उम्मेदवार आश गुरुङले गुरुङले २६ मत ल्याए । त्यस्तै उपाध्यक्षमा भने प्रेस चौतारीका अनुज अधिकारी २९ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी युनियनका सन्देश पौडेलले २६ मतसहित पराजित भएका छन् । महिला उपाध्यक्षमा युनियन–सङ्गठन प्यानलकी शान्ता कमली ३१ मतसहित विजयी हुँदा प्रेस चौतारीबाट बेलिना थापाले २४ मत प्राप्त गरेकी थिईन् ।
सचिवमा युनियनका रुद्रहरि ढकाल ३० मतसहित विजयी हुँदा चौतारीका सरोज विकले २५ प्राप्त गरेका थिए । त्यस्तै समावेशी सहसचिवमा श्यामशीतल परियार, खुला सहसचिवमा युनियन–सङ्गठन प्यानलकै घनबहादुर घिमिरे (जिवी), आदिवासी जनजाति सदस्यमा युनियन–सङ्गठनकै भरत राना विजयी भएका छन्।
खुला सदस्यमा अजितजङ्ग थापा, नीरज अधिकारी, दीपेन्द्र रेग्मी, ऋषिराम अधिकारी र सुजन बानियाँ विजयी भएका छन् । त्यसैगरी केन्द्रीय परिषद् सदस्यमा युनियन–सङ्गठन प्यानलकै सन्तोष पौडेल ३० मत ल्याएर जित हासिल गरेका छन् ।
यसअघि कोषाध्यक्षमा युनियन–सङ्गठनका रवीन्द्र लामिछाने, महिला सदस्यमा सिर्जना बराल र चौतारीका दलित सदस्यमा डिबी मजाकोटी निर्विरोध चयन भएका थिए । प्रदेश प्रनितिधिमा कृष्ण आले, विमला अधिकारी, कृष्ण अधिकारी र युवराज श्रेष्ठ पनि निर्विरोध चयन भएका छन् । बुधबार भएको महासङ्घको निर्वाचनमा लमजुङमा कूल ५६ मध्ये ५५ मत खसेको थियो ।