काठमाडौं । विश्वका भेट्रान बक्सरको आकर्षक भिडन्त हुने ‘अन्तर्राष्ट्रिय व्यावसायिक प्रोफेसनल किक बक्सिङ हिट ४८’ प्रतियोगितामा नेपालका युवापुस्ताका चर्चित अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले भिड्ने भएका छन् ।
कम उमेर सो प्रतियोगिता खेल्ने उनी पहिलो बक्सर हुन् । जापानको नागोया सहरमा अवस्थित नागोया कङग्रेस हलमा आगामी वैशाख १२ गते सो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुँदैछ । हिमालयन चितुवा नामले विश्व प्रसिद्ध अविरलले यही चैत १५ गते ‘के वान फेस्टिबल २०२१’ को उपाधि चुमेका थिए । जापानको टोकियो सहरमा सम्पन्न सो अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले जापानी बक्सर खोतेजुलाई पहिलो राउण्डमा परास्त गर्दै नेपालका लागि ऐतिहासिक जित दिलाएका थिए ।
विश्वका चर्चित बक्सरलाई मात्र सो महोत्सवमा खेलाएको थियो । सो प्रतियोगिताको पदक आफ्नो पक्षमा ल्याएसँगै उनी कम उमेरका पदक हात पार्ने पहिलो नेपाली युवा खेलाडी समेत बनेका थिए । १० हजारभन्दा बढी जापानीले विश्वचर्चित सो भिडन्त हलमा हेरेका थिए भने आबेमा युट्युब च्यानलमार्फत् विश्वभर प्रत्यक्ष प्रसारण गरिएको थियो । अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका सुपुत्र अविरलले बुबाकै विशेष प्रशिक्षणमा महोत्सवको तयारी गरेका थिए ।
सानो उमेरमा बक्सिङमा ऐतिहासिक सफलता हात पार्दै आएका अविरलले हालै सम्पन्न विश्वको प्रतिष्ठित ‘के वन किक बक्सिङ अन्तर्राष्ट्रिय प्रतियोगिता २०२०’ मा दोस्रो स्थान प्राप्त गर्न सफल भएका थिए ।
नेपालको तर्फबाट कम उमेरमा सो प्रतियोगितामा भाग लिने पहिलो ‘बक्सर’समेत हुन् । २१ वर्षीय बक्सर अविरलले बाज्रिलियन खेलाडी फिलिपसँग सो प्रतियोगितामा प्राविधिक कारणमात्र पराजित हुनुपरेको थियो । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा निवासी उनीहरु विगत ५ वर्षदेखि जापानको नागोया सहरमा बस्दै आएका छन् । वेस्टर्न युनाइटेड क्लबका अध्यक्ष रामनारायण घिमिरेले दिएको जानकारीअनुसार अबिरलले हालसम्म १६ भन्दा बढी व्यावसायिक किक बक्सिङमा भिडन्त गरिसकेका छन् । तीमध्ये अधिकांश खेलमा सर्वप्रथम भई विश्व कीर्तिमान कायम गर्न सफल भएको छ । युवा बक्सर अविरलले जापानी खेलाडी रादालाई पराजित गर्दै गत वर्ष टोकियोमा नै सम्पन्न ‘होस्ट कप एस’को उपाधि चुमेका थिए । रादा जापानका चर्चित व्यावसायिक किक बक्सर हुन् । ३ राउण्डको ३ चरणको खेलमा अंक बराबरी हुँदा पुनः २ मिनेटको थप समयमा अविरलले प्रतिस्पर्धीलाई नकाउट गर्दै उपाधि हात पारेका थिए ।
यसैगरी उनले गत वर्ष नै टोकियोको नागोयामा सम्पन्न हिट ४६ किक बक्सिङको टाइटल जित्न सफल भएका थिए । रोमाञ्जकारी सो भिडन्तमा उनले जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउण्डमै मुक्का प्रहार गरी मैदानमा ढालेर हिट ४६ किक बक्सिङको टाइटल उपाधि जित्ने कान्छा बक्सर बनेका थिए । अविरलले हालसम्म हिट–२४ किक बक्सिङ खेलको मिडिल वेटको २ पटक च्याम्पियन तथा हालसम्म १४ खेलमा अपराजित यात्रा गर्ने क्रममा ९ खेलमा नकआउट गर्दै विजय हासिल गरिसकेका र तीमध्ये ९ अन्तर्राष्ट्रिय खेलका ८ खेलमा सर्वप्रथम भई विश्व कीर्तिमान कायम गर्न सफल भएको गुर्जुराधास्थित अन्तर्राष्ट्रियस्तरको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा सञ्चालकसमेत रहनुभएका रामनारायणले जानकारी दिएका छन् । रासस