चैत महिना सुरु भएसँगै तनहुँका कृषकलाई चैते धान रोप्न चटारो

तनहुँ । चैत महिना सुरु भएसँगै जिल्लाका कृषकलाई चैते धान रोप्न चटारो छ । तनहुँका विभिन्न भागमा यतिबेला कृषक चैते धान रोप्न व्यस्त छन् । ब्यास नगरपालिका–११ पोल्याङका राजेन्द्र पौडेलले आफूले चैते धान रोपिसकेको जानकारी दिएका छन् । मुख्य पेसा नै कृषि भएकाले वर्षौंदेखि धान रोप्दै आएको उनले बताए । तरकारीखेती, भैंसीपालन, मौरीपालन गरिरहेका उनले भने, ‘अहिलेसम्म चामल किन्नुपरेको छैन, धान नरोप्ने हो भने त समस्या पर्छ ।’ उनका अनुसार पोल्याङका धान फाँटमा चैते धान रोपाइँ सम्पन्न भएको छ ।

म्याग्दे गाउँपालिकाका कृषक पनि यतिबेला चैते धान रोप्न व्यस्त छन् । वडा नं –३ धयरेका रामबहादुर थापाले चैते सुरु भएसँगै यहाँका कृषक धान रोप्न व्यस्त रहेको बताएका छन् । ‘धयरेका फाँट यतिबेला कृषकले भरिएका छन्, कृषक धान रोप्न व्यस्त छन् ।’ उनले भने । वर्षभरीलाई खान पुग्ने अन्नबालीको जोहो गर्न पनि धान रोप्नुपर्ने बाध्यता रहेको म्याग्दे–४ का चन्द्रबहादुर रानाले बताएका छन् ।

किसान यतिबेला खेतबारीमा आली लगाउने, छेउकुना खन्ने, बीउ काढ्ने, हल चलाउने, खेत रोप्नेलगायतका काममा व्यस्त छन् । किसानले कृषि उपकरणको अभावमा समस्या खेप्नुपरेको बताएका छन् । म्याग्दे–१ गुणादीका लक्ष्मी रानाले गोरुले जोतेर खेत रोप्दा महंगो पर्ने गरेको बताए । जिल्लाको १६ हजार हेक्टर क्षेत्रफलमा वर्षे तथा ३ हजार ५ सय हेक्टरमा चैते धानखेती हुने गरेको छ ।

जिल्लाका तनहुँसुर, सेपाबगैंचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगेलगायतका क्षेत्र धानखेतीका लागि प्रख्यात मानिन्छन् । कृषकले सावित्री, मकवानपुरेलगायत उन्नत जातका धानखेती लगाउने गरेका छन् । रासस

कमेन्टहरु
Loading...