दिपक के श्रेष्ठ
काठमाण्डौंमा शुक्रबार एक्कासी वायु प्रदुषण बढेपछि नागरिकलाई सकेसम्म घरबाट बाहिर ननिस्कन वातावरण विभाग र मौसमवीद्ले अनुरोध गरिरहेकोबेला पोखरामा पनि बिहानैदेखि फरक प्रकृतिको हुस्सु र तुवाँलोजस्तो देखिएको छ ।
बिहानैदेखि पोखरा उपत्यका सफा देखिएको छैन भने आकाशसमेत सफा छैन । बिहान सदा झैं धुमिल देखिएको आकाशमा १० बजेसम्म पनि घाम देखिएको छैन । काठमाण्डौंमा बाहिर निस्कँदा आँखा पोल्ने भएपनि पोखरामा त्यस्तो असर छैन ।
यस विषयमा जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमवीद् राजु प्रधानाङ्गले हिजोको भन्दा आज राजधानीको अवस्था केही सहज भएको बताए । यद्यपि, मौसम पुरै सफा हुनभने केही दिन लाग्न सक्छ । यस्तो अवस्था आउनुमा पश्चिमी वायुको प्रभाव र देशका विभिन्न स्थानमा डढेलो र आगलागी कारक भएको उनले बताए ।
‘केही दिनदेखि देशका विभिन्न भागमा डढेलो लाग्दै आएको थियो’ प्रधानाङ्गले भने ‘हिजोमात्रै देशभर ७ सय १० स्थानमा डढेलो लागेको पाइएको छ ।’ पहाडी भू–भागमा लागेको डढेलोले मौसम बिग्रिएको उनको दाबी छ । विशेषतः उपत्यकामा यसको प्रभाव बढी छ ।
धुँवाले तुवालो र कालो बादल बढेपछि आकाश धमिलो हुन्छ । सोही कारण हावाको प्रभाव कम हुँदा तुवालो हट्न नसकेपछि यस्तो प्रभाव पर्ने उनले बताए । पोखरा पनि उपत्यका भएको र डढेलोको असरले यस्तो भएको उनले बताए ।मौसम र वातावरण सफा नभएकाले पोखरामा पनि मास्क अनिवार्य प्रयोग गर्न मौसमवीद् प्रधानाङ्गले सुझाएका छन् ।
राजधानीमा जनसंख्या र उद्योगधन्दाकाकारण स्वास्थ्यमा असर पार्ने सम्भावना भएपनि पोखरामा त्यस्तो सम्भावना हाल नभएको प्रधानाङ्गले जानकारी दिएका छन् । जल तथा मौसम विभागकाअनुसार स्थानीय र पश्चिमी वायुको समेत प्रभाव थपिएको छ ।
विभागका अनुसार आगामी ३ दिन पूर्व, बागमती र गण्डकी प्रदेशमा मेघगर्जन र चट्टयाङ्ग सहित फाटफुट र हल्का वर्षाको सम्भावना रहेको छ ।