एजेन्सी । म्यानमारमा सैन्य ‘कु’ विरुद्ध उत्रिएका ३ सयभन्दा धेरैले ज्यान गुमाएका छन् । सेनाविरुद्ध भएको प्रदर्शनका क्रममा म्यानमारमा हालसम्म ३ सय २० जनाको ज्यान गएको एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल फ्रिजनर्स (एएपिपी) ले तथ्यांक सार्वजनिक गर्दै जानकारी दिएको हो । म्यानमारमा सेनाले गरेको ‘कु’ विरुद्ध आन्दोलनमा सहभागी हुँदा हिजो बिहीबार मात्रै ३४ जनाले ज्यान गुमाएका थिए ।
बिहीबारको आन्दोलनमा यान्गोनमा सबैभन्दा धेरै आन्दोलनकारीले ज्यान गुमाएका थिए । यान्गोन म्यानमारको बसैभन्दा ठूलो सहर मानिन्छ । त्यस्तै मान्डलेमा १६ वर्षीय १ जना किशोरले प्रहरीको गोली लागेर ज्यान गुमाएका छन् । मान्डले म्यानमारमा दोस्रो ठूलो सहर हो ।
म्यानमारमा मानवताविरुद्धको अपराध हरेक दिन भइरहेको र आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने एएपिपीले अनुमान गरेको छ । पश्चिमा मुलुकले शान्तिपूर्ण आन्दोलन भइरहेको भए पनि म्यानमारले आन्दोलनकारीविरुद्ध दमन गरेको आरोप लगाउँदै म्यानमारको सेनामाथि प्रतिबन्ध लगाएका छन् । त्यहाँको सेनाले भने अन्तर्राष्ट्रिय मापदण्डलाई ध्यानमा राखेर आन्दोलनलाई नियन्त्रणमा लिने कोसिस गरेको तथा अनावश्यक बल प्रयोग नगरेको दावी गरेको छ ।
आन्दोलनका क्रममा ९ जना सुरक्षाकर्मीले समेत ज्यान गुमाएको मंगलबार सेनाका प्रवक्ताले बताएका थिए । त्यस्तै त्यहाँको सेनाले आन्दोलनका क्रममा १ सय ६४ जना प्रदर्शनकारीको ज्यान गएको जनाएको छ ।
ज्यान गुमाएकामध्ये २५ जनाको टोउकोमा गोली प्रहार गरिएको एएपिपीले सार्वजनिक गरेको तथ्यांकमा जनाइएको छ । म्यानमारको सैनिक ‘कु’ विरुद्धको आन्दोलनका क्रममा कम्तीमा पनि २० जना बालबालिकाले ज्यान गुमाएको सेभ द चिल्ड्रेनले जानकारी दिएको छ । त्यस्तै ९० प्रतिशत पुरुष तथा १ तिहाई २४ वर्षभन्दा तल उमेर समुहका व्यक्तिले म्यानमारमा आन्दोलनका क्रममा ज्यान गुमाएका छन् ।