बाग्लुङ । बाग्लुङमा सवारी दुर्घटना र चट्याङले लागेर २ जना बालकको ज्यान गएको छ भने २ युवा घाइते भएका छन् । जिल्लाको बडिगाड गाउँपालिका–८ मा मंगलबार बेलुकी चट्याङले लागेर अमरबहादुर सुनारका ९ वर्षीय छोरा सिने सुनारको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
मंगलबारै गलकोट नगरपालिका–६ मा पिकअप दुर्घटना हुँदा उक्त पिकअप भ्यानमा सवार १ जना बालकको ज्यान गएको छ । काठमाडौंबाट आएर यात्रु झारेपछि फर्काउने क्रममा सडकबाट २० मिटर तल खस्दा पिकअपमै बसेका बालकको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा गलकोट नगरपालिका–६ का नितु बस्नेतका ७ वर्षीय छोरा निकेश बस्नेत रहेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताएका छन् । मंगलबारै बडिगाड–४ मा बा २० प २८८० नंको पिकअप सडकदेखि ६० मिटर तल खस्दा चालक यामबहादुर बुढाथोकी र सहचालक सुजन गोतामे घाइते भएका छन् । उनीहरु दुवैलाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि पोखरा पठाइएको छ । रासस