शुक्लागण्डकी मेयर कप आगामी चैत १३ देखि १५ गतेसम्म

तनहुँ संवादाता। शुक्लागण्डकी नगरपालिकाले चैत १३ देखि १५ गतेसम्म मेयर कप भलिबल प्रतियोगिता गर्ने भएको छ ।

दुलेगौंडामा सोमबार पत्रकार सम्मेलन गर्दै नगरपालिकाले प्रदेश अन्तर्गतका पालिकास्तरीय भलिबल प्रतियोगिता गर्न लागिएको जानकारी दिएको हो ।

शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीस्थित गाउँफर्कोदय माविको खेल मैदानमा प्रतियोगिता हुने प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले बताए ।

स्वास्थ्यको लागि खेलकुद राष्टको लागि खेलकुद भन्ने नाराका साथ प्रतियोगिता संचालन गर्न लागिएको हो ।

प्रतियोगितामा प्रथम हुनेले १ लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान प्राप्त गर्नेछन् ।

त्यस्तै द्वितीय हुनेले १ लाख र तृतीय हुने टिमले ५० हजार रुपैयाँसहित मेडल, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख किसान गुरुङले खेलकुदले अनुशासित र असल नागरिक बनाउन सहयोग पुग्ने हुँदा खेलकुद अपरिहार्य रहेकोले प्रतियोगिता आयोजना गरिएको बताए ।

‘खेलाडी गहना हुन्, खेलको माध्यमबाट स्थानीय तह, प्रदेश र देशलाई चिनाउने भूमिका खेलेको छ, खेलाडीलाई प्रोत्साहन गर्न नगरपालिका प्रतिवद्ध छ,’ नगर प्रमुख गुरुङले भने, ‘खेलमा निरन्तर लागिरहन र खेलतर्फ प्रेरित गर्न सम्मानले महत्वपूर्ण भूमिका खेल्छ ।’

उपप्रमुख सविता रसाइलीले देशको खम्बा युवा शक्तिलाई राष्ट्रप्रतिको दायित्वबोध गराउन टेवा पुग्ने बताइन् ।

प्रतियोगिताको माध्यमबाट एकापसमा परिचित गराउन समेत भूमिका खेल्ने उनलेब बताइन् ।

गण्डकी प्रदेशका ८५ वटा पालिकालाई प्रतियोगितामा सहभागिताका लागि आमन्त्रण गरिने उनले बताइन् ।

तनहुँका १० वटै स्थानीय तहलाई अनिवार्य रुपमा सहभागिता जनाउन अनुरोध गरिनेछ ।

प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले गर्ने नगरप्रमुख गुरुङले जानकारी दिए ।

कमेन्टहरु
Loading...