एजेन्सी । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यामा फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा करीब ४७ हजार जना संक्रमित भएका छन् ।
गत २४ घण्टामा कोरोना संक्रमितको यो संख्या यसवर्ष सुरु भएयताको नै सबभन्दा बढी हो । यस अवधिमा कोरोना संक्रमणबाट २ सय १२ जनाको ज्यान गएपछि यहाँ कुल ज्यान गुमाउनेको संख्या १ लाख ५९ हजार ९ सय ६७ पुगेको सोमबार सो मन्त्रालयले जनाएको छ ।
भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या १ करोड १६ लाख ४६ हजार ८१ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
कुल संक्रमितमध्ये ३ लाख ३४ हजार ६ सय ४६ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने कुल एक१ करोड ११ लाख ५१ हजार ४ सय ६८ जना संक्रमणमुक्त भएका छन् ।
भारतमा जनवरीबाट कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म ४ करोड ५० लाखभन्दा बढीले खोप लगाइसकेका छन् । भारतको राष्ट्रिय राजधानी दिल्लीमा गत २४ घण्टामा ८ सय २३ जनामा कोरोना भाइरस देखिएको र १ जना ज्यान गभएको हो । नयाँ दिल्लीमा कोरोना सुरु भएदेखि यता हालसम्म १० हजार ९ सय ५६ जनाको ज्यान गइसकेको छ ।
त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषदले जनाएको छ । परिषद्का अनुसार आइतबारसम्म भारतमा २३ करोड ४० लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ ।
आइतबार एकै दिनमा १० लाख ६३ हजारभन्दा जनाको कोरोना परीक्षण गरिएको छ । रासस