एजेन्सी । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यामा फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा करिब ४० हजार जना संक्रमित भएका छन् ।
गत बुधबार १ दिनमा ३६ हजार संक्रमित भएका थिए भने बिहीबार ३९ हजार ७ सय २६ पुगेको छ । गत २४ घण्टाको कोरोना संक्रमितको यो संख्या यस वर्ष सुरु भएयताको सबैभन्दा बढी हो । भारतमा अहिलेसम्म कूल संक्रमितको संख्या १ करोड १५ लाख १४ हजार ३ सय ३१ पुगेको सो मन्त्रालयले जनाइएको छ । कूल संक्रमितमध्ये २ लाख ७१ हजार २ सय ८२ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने कूल १ करोड १० लाख ८३ हजार ६ सय ७९ जना संक्रमणमुक्त भएका छन् ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट १ सय ५४ जनाको निधन भएपछि यहाँ कोरोना संक्रमणको कारण मृतकको संख्या १ लाख ५९ हजार ३ सय ७० पुगेको शुक्रबार जनाइएको छ । भारतमा जनवरीबाट कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म करिब ३ करोड ८० लाखले खोप लगाइसकेका छन् । त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषदले जनाएको छ । परिषद्का अनुसार मंगलबारसम्म भारतमा २३ करोडभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । रासस