लमजुङ । चट्याङ लागेर विद्यार्थीको ज्यान गएको र घाइते भएपछि बुधबारदेखि बन्द गरिएको लमजुङको १ विद्यालयमा आजदेखि पुनः पठनपाठन सुरु भएको छ ।
क्व्होलासोथर गाउँपालिका–४ भुजुङस्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा पठनपाठन सुरु भएको हो । विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद गुरुङले भने, ‘विद्यालयमै रहेको अवस्थामा चट्याङ लागेर विद्यार्थीको ज्यान गएको र केही घाइते भएपछि बुधबार क्व्होलासोथर गाउँपालिका शिक्षा शाखा प्रमुख विद्यालयका शिक्षकलगायतको बैठक बसेर बुधबार बन्द गरिएको र बिहीबार विद्यालयले शोक मनाएकाले बन्द भएकामा आजदेखि विद्यालय पुनः सञ्चालनमा आएको छ ।’
विद्यालय सञ्चालनमा आए पनि थोरै विद्यार्थी उपस्थित भएको उनको भनाई छ ।
विद्यालयमा विद्यार्थी रहेकै बेला चट्याङ पर्दा ३ जना विद्यार्थी गम्भीर घाइते भएका थिए । घाइतेपश्चात् हेलिकप्टरमा उद्धार गरी पोखरास्थित मणिपाल अस्पतालमा उपचारका लागि पु¥याइए पनि कक्षा १० मा अध्ययनरत १७ वर्षीय विनोद विकको ज्यान गएको थियो । गम्भीर घाइते छविन्द्र गुरुङ र अंशु गुरुङ उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्थामा सुधार भइरहेको प्रधानाध्यापक गुरुङको भनाई छ ।
विसं २०५२ मा स्थापना भएको यस विद्यालयमा हाल २ सय ६६ विद्यार्थी रहेको विद्यालयले जनाएको छ । यस विद्यालयमा वाइफाइको तार, बिजुलीको तारमा समेत क्षति पु¥याएकामा अझै अवरुद्ध भइरहेको छ । रासस