पोखरा । पोखरामा रहेको राष्ट्रिय मावि विद्यालयको प्रशासनले विद्यार्थी र अभिभावकलाई आर्थिक भार पर्ने गरेर फर्म भर्ने नाममा एकमुस्ट भर्ना शुल्क तथा मासिक शुल्क लिने निर्णय गरेकोमा विद्यार्थीहरुले आपत्ति प्रकट गरेका छन् ।
आज सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै विद्यालय प्रशासनले गुणस्तरीय शिक्षा प्रदान गर्नुको साटो शैक्षिक अवस्था खस्किरहेको अवस्थामा शुल्क एकमुस्ट लिने निर्णय गरेकोमा आपत्ति प्रकट गरेका हुन् ।
विद्याथीहरुले विभिन्न माग राख्दै विद्यालय प्रशासनलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।
ज्ञापनपत्रमार्फत् विद्यार्थीहरुले विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेको भए पनि सो कक्षा नियमित नभएको आरोप लगाएका छन् । साथै उनीहरुले अनलाइन कक्षा नियमित नहुँदा अन्य महिनाको शुल्क छुट गर्नुपर्ने माग गरेका छन् । ‘राष्ट्रिय माविमा जम्मा ३ महिना अनलाइन कक्षा सञ्चालनमा आएको तर उक्त कक्षा नियमित रुपले सुचारु नभएको हुँदा अन्य महिनाको शुल्क छुट गरि विद्यार्थी र अभिभावकमाथि शुल्कको भार थुपारेर ढाड सेक्ने काम बन्द गरि अन्य महिनाको मासिक शुल्क फिताए गर्न अनुरोध गर्दछौं ।’ ज्ञापनपत्रमा भनिएको छ ।
यस्तै विद्यार्थीले विद्यालयमा रहेको पुस्तकालयलाई व्यवस्थित बनाउन समेत आग्रह गरेका छन् । पुस्तकालय अव्यवस्थित भएको र पुस्तक पनि नहुँदा विद्यार्थी मारमा परेको उनीहरुको भनाई छ । ‘विद्यालयमा रहेको अव्यवस्थित पुस्तकालयलाई व्यवस्थित गरि अपुग भएका र नयाँ पुस्तक यथाशीघ्र व्यवस्था गर्न अनुरोध गर्दछौं ।’ विद्यार्थीद्वारा विद्यालय प्रशासनमा बुझाइएको ज्ञापनपत्रमा भनिएको छ । विद्यार्थीले आफ्नो माग यथाशीघ्र सम्बोधन नभएको अवस्थामा विद्यालयविरुद्ध चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएका छन् ।